आइतवार, साउन १०, २०८३ | July 26, 2026

एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जेद्दामा भव्य रूपमा सम्पन्न

एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जेद्दामा भव्य रूपमा सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, साउन ९, २०८३

  • 94
    Views
एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव जेद्दामा भव्य रूपमा सम्पन्न

नवीन सञ्चार
जेद्दा, साउदी अरब | २५ जुलाई २०२६

गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबको १९औँ वार्षिकोत्सव जेद्दास्थित द भिलेज रेस्टुरेन्ट (अजीजिया) मा शुक्रबार, २४ जुलाई २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका उपाध्यक्ष राजकुमार गिरी ले सञ्चालन गर्नुभएको कार्यक्रम अपराह्न २ बजेदेखि सुरु भई संस्थागत गतिविधि, नेपाली महावाणिज्यदूतावाससँग श्रमिक अन्तरक्रिया तथा विविध सांस्कृतिक प्रस्तुति गरी तीन चरणमा सम्पन्न भएको थियो।

कार्यक्रमको सभापतित्व एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराई ले गर्नुभएको थियो भने नेपाली महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत पारस पण्डित प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा उप-महावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव, श्रम सहचारी जीवन घिमिरे तथा उप-वाणिज्यदूत पुजन पाण्डे सहभागी हुनुभएको थियो।

समारोहमा विभिन्न नेपाली सामाजिक तथा क्षेत्रीय संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, समाजसेवी तथा प्रवासी नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। लक्ष्मी थापा मगर र शर्मिला गिरीले अतिथिहरूलाई खादा तथा ब्याच प्रदान गरी स्वागत गर्नुभएको थियो।

सभापति, प्रमुख अतिथि तथा अतिथिहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि उपस्थित सबैले सम्मानपूर्वक राष्ट्रिय गान गाएका थिए। LCC, RCC र NCC को संयुक्त झाँकी प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको पहिलो चरणमा उपाध्यक्ष हेम सुवेदी ले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। त्यसपछि उपाध्यक्ष अर्जुन थापा ले संस्थाको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ ले आर्थिक प्रतिवेदन, अडिट रिपोर्ट, बैंक स्टेटमेन्ट तथा आय–व्ययको विस्तृत विवरण सार्वजनिक गर्नुभयो।

सोही अवसरमा समाजमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई अध्यक्ष उमेश भट्टराई र प्रमुख अतिथि पारस पण्डितद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो।

शुभकामना मन्तव्यका क्रममा एनआरएनए आरसीसी अलकासिमका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी रमजान दिन मियाँ ले संस्थाले श्रमिक हितमा पुर्‍याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।

इस्लामिक दावा सेन्टरका नेपाली विभाग प्रमुख मन्जुर अली मियाँ ले सम्सी जेलमा समस्यामा परेका नेपाली श्रमिकहरूको शीघ्र उद्धारका लागि महावाणिज्यदूतावासको ध्यानाकर्षण गराउनुभयो।

नेपाली साझा मञ्चका तेजबहादुर विक, किरात राई यायोक्खाका शैलाब राई, नेपाल मगर संघका कुलबहादुर मगर, तामाङ युवा समाजका रामसिंह तामाङ, हातेमालो युवा क्लबका अमरप्रसाद चपाईं तथा नेपाली युवा समाजका राम थापा लगायतले एनआरएनएले श्रमिक हक–हितमा खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो।

ग्लोबल आईएमई बैंकका प्रतिनिधि दीपकराज गौतम ले बैंकिङ सेवासम्बन्धी जानकारी दिँदै विदेशबाट नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भए पनि बैंक खाता खोल्दा तत्काल राष्ट्रिय परिचयपत्र अनिवार्य नरहेको जानकारी गराउनुभयो।

सिटी एक्सप्रेसका क्षेत्रीय प्रबन्धक रामजी कँडेल ले वैधानिक माध्यमबाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्नुभयो भने Frendi का क्षेत्रीय प्रबन्धक निरज सिंह ले आफ्नो नाममा दर्ता भएका अनावश्यक सिमकार्ड बन्द गर्न सबैलाई अनुरोध गर्नुभयो।

 

उप-महावाणिज्यदूत यज्ञ पोखरेल ले दूतावास र एनआरएनएको सहकार्यले श्रमिकहरूलाई उल्लेखनीय राहत पुगेको बताउँदै दूतावासका आधिकारिक सूचनाहरू सामाजिक सञ्जालमार्फत नियमित रूपमा हेर्न आग्रह गर्नुभयो। श्रम सहचारी जीवन घिमिरे ले साउदी अरबको स्थानीय कानुनको पूर्ण पालना गर्न सबै नेपाली श्रमिकलाई अनुरोध गर्नुभयो।

प्रमुख अतिथिको मन्तव्यमा महावाणिज्यदूत पारस पण्डित ले एनआरएनए साउदी अरब १९ वर्ष पुगे पनि यसको कार्यसम्पादन ४०–४५ वर्ष पुरानो परिपक्व संस्थाजत्तिकै प्रभावकारी रहेको उल्लेख गर्दै श्रमिक समस्या समाधान तथा दूतावाससँगको सहकार्यमा संस्थाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

समापन मन्तव्यमा अध्यक्ष उमेश भट्टराई ले संस्थाले हालसम्म श्रमिकहरूको हितका लागि करिब ६ देखि ७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग उपलब्ध गराइसकेको जानकारी दिनुभयो। उहाँले साउदी अरबको कानुनको सम्मान गर्दै काम गर्न सबैलाई आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने महावाणिज्यदूतावास, विभिन्न संघ–संस्था, सञ्चारमाध्यम, कलाकार तथा सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको दोस्रो चरणमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले आफूहरूले भोगिरहेका कानुनी, श्रम तथा व्यवहारिक समस्याहरू प्रत्यक्ष रूपमा महावाणिज्यदूतावासका पदाधिकारीसमक्ष राखेका थिए। महावाणिज्यदूत पारस पण्डित, उप-महावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव तथा श्रम सहचारी जीवन घिमिरे ले उठाइएका प्रश्नहरूको जवाफ दिँदै आवश्यक सहयोग र समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्तिम चरणमा स्थानीय लोकप्रिय नेपाली कलाकारहरू सरस्वती लामा, श्याम भण्डारी, तेजबहादुर सिलवाल, अमर चपाईं तथा अशोक सुवेदी लगायतले उत्कृष्ट सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिमा सहभागीहरू नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण अतिथि, आयोजक तथा सहभागीहरूका लागि रात्रिभोजको व्यवस्था गरिएको थियो। यससँगै एनआरएनए साउदी अरबको १९औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha