नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । भाद्र २७ गतेका दिन चिकित्सक संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी ज्यानै मार्ने गरी घाइते बनाइएको घटनाका सम्बन्धमा संघले ७ बुँदे माग राखेर आइतबारदेखि देशभर आन्दोलनको शुरुवात थियो । आन्दोलनका कार्यक्रमका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र यस संघका पदाधिकारीबीच भएको सम्झौताले घटनामा संलग्न दोषीहरुलाई गृह मन्त्रालयमार्फत तत्काल पक्राउ गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारवाही गर्ने र उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकाय प्रतिबद्ध रहने भएकोले नेपाल चिकित्सक संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु हाललाई आजैको मितिदेखि लागू हुने गरी स्थगित गरिएको व्यहोरा सरोकारवाला सबै र सर्वसाधारण समेतमा संघले जानकारी गराएको छ ।
मुलुकको स्वास्थ्य सेवालाई अपराधिक मानसिकता बोकेकाहरुबाट जोगाउँदै आम सर्व साधारण नागरिकहरुलाई गुणस्तरीय, पारदर्शि, भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि नेपाल चिकित्सक संघ सदैव अग्रपंतिमा रहेको व्यहोरा सबैमा विदितै छ भन्दै संघले चिकित्सकमाथि भएको सांघातिक आक्रमणका कारण बाध्यताबस संघको आव्हानमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्नु परेकोमा दुःख लागेको जनाएको छ ।’तर पनि सरकारले चिकित्सकको जीउज्यानको सुरक्षा गर्न नसक्दा आपराधिक मानसिकताका केही गलत प्रवृत्तिका व्यक्तिका कारणले यो अप्रिय अवस्था सिर्जना भएको हो ।’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘सुरक्षाको जिम्मा लिएको सरकारले यस संघसँग गरिएका सम्झौता अक्षरस पालना नगरेको अवस्थामा जुनसुकै समयमा पुनः कडा भन्दा कडा कार्यक्रम सहित चिकित्सक संघ आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’