नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, मंसिर १० । चलचित्र ‘सारथी’ आगामी शुक्रबार (मंसिर ११) देखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रदर्शनबारे जानकारी दिन बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कलाकार तथा निर्माण टोलीले चलचित्रबारे जानकारी गराएको हो।
कार्यक्रममा चलचित्रका कलाकार निरुता सिंह, उत्तम प्रधान, मुकुन्द कुमार श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा र गायत्री जोशी उपस्थित थिए।
किम्भे प्रोडक्सनको प्रस्तुति तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रलाई कुमार गजुरेलले निर्देशन गरेका हुन्। चलचित्रका निर्माता रादीप श्रेष्ठ र प्रदीप रायमाझी तथा कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन्।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द कुमार श्रेष्ठ, सम्रान्त थापा, राजेन्द्र केसी, मदन थापा र तुलसी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। यस चलचित्रमार्फत गिरी विश्वकर्मा र गायत्री जोशीले अभिनयमा पदार्पण गर्दैछन्।
कार्यक्रममा कलाकारहरूले नेपाली चलचित्र क्षेत्रको विगत र वर्तमान अवस्थाबारे अनुभव साझा गरेका थिए। उनीहरूले चलचित्र निर्माणका क्रममा विगतमा भोग्नुपरेको संघर्ष र अहिलेको अवस्थाबारे चर्चा गर्दै प्रविधिको विकासले निर्माण प्रक्रिया केही सहज बनाए पनि संघर्षका पक्ष उस्तै रहेको बताए।
‘दर्पण छायाँ’बाट चर्चित बनेको जोडी निरुता सिंह र उत्तम प्रधान लामो समयपछि चलचित्र ‘सारथी’मा एकसाथ देखिन लागेका हुन्। कार्यक्रममा उनीहरूले पुराना चलचित्रका लोकप्रिय संवाद प्रस्तुत गर्दै आफ्नो मित्रता र चलचित्र क्षेत्रसँग जोडिएका सम्झना साझा गरेका थिए।
कार्यक्रममा निरुता सिंह र उत्तम प्रधानले ‘दर्पण छायाँ’को दोस्रो भाग निर्माणको तयारी भइरहेको जानकारीसमेत दिए। उनीहरूका अनुसार चलचित्रको कथा तयार भए पनि निर्माणसम्बन्धी अन्य विषयमा छलफल गर्न बाँकी छ।
कलाकार तथा निर्माण टोलीले मंसिर ११ देखि प्रदर्शनमा आउने चलचित्र ‘सारथी’ हेर्न दर्शकलाई आग्रह गर्दै चलचित्रलाई साथ र सहयोग गरिदिन अनुरोध गरेका छन्।