९ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकामा कार्यरत नगर प्रहरीहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ । नगरपालिकामा कार्यरत नगर प्रहरीहरुलाई नगरबासीको सेवा तथा भैपरि आउने विपद्ज्रन्य र अन्य आकस्मिक कार्यहरुमा थप दक्ष र सक्रिय बनाउन तालिम सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिकाको सभाकक्षमा सुरु गरिएको तालिमको शुभारम्भ कार्यक्रममा नगर प्रमुख कृष्णमान डंगोलले नगर प्रहरीहरुलाई अनुशासित र प्रतिबद्ध भएर नगरबासीको सेवामा लाग्न अनुरोध गर्नुभयो । उप–प्रमुख शुभलक्ष्मी शाक्यलगायत नगरपालिकामा कार्यरत विभिन्न शाखा प्रमुख एवं कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले नगर प्रहरीले गर्नुपर्ने र गर्नसक्ने कार्य क्षेत्रका बारेमा ललितपुर महानगर प्रहरीले गरेका कार्य सम्पादनहरुको वृत्तचित्र प्रस्तुत गर्नुभएको थियो । हाल कीर्तिपुर नगरपालिकामा नगर प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा २ जना हवल्दारसहित १७ जना नगर प्रहरी कार्यरत छन् ।