नवीनसञ्चार संवाददाता
काठमाडौं,मंशिर ७–त्रिभुवन विश्वविद्यालय र ‘प्रेम नाथ तथा नर्मदा रिजाल स्मृति कोष’ बीच दानदातव्य कोषमा योगदान तथा कोष परिचालन सम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालय अन्र्तगत सञ्चालन हुने वातावरण विज्ञान विषयको स्नात्तकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने एक जना विद्यार्थीलाई ‘प्रेम नाथ तथा नर्मदा रिजाल स्मृति स्वर्ण पदक’ तथा प्रमाणपत्र प्रदान गर्ने उदेश्यले कोषको स्थापना गरिएको हो । उक्त सम्झौतामा दानदातव्यकर्ता प्रा.डा. केदार प्रसाद रिजाल र विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले हस्ताक्षर गर्नुभयो । एघार लाख एघार हजार एक सय एघार रुपैयाँको उक्त कोष ‘त्रिभुवन विश्वविद्यालय दानदातव्य कोष सञ्चालन सम्बन्धी विनियम २०७९’ अनुसार सञ्चालन हुनेछ ।