नवीनसञ्चार संवाददाता
काठमाडौँ, मङ्सिर ७ गते । चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको व्यावहारिक सीप विकास गर्ने उद्देश्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र कीर्तिपुर अस्पतालबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र पाटन स्वास्थ्य प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतामा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ साक्षी बस्नुभएको छ ।
समझदारीअनुसार दुवै अस्पतालले बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा उपलब्ध विशेषज्ञ सेवा तथा उपचार क्षमताअनुसार एकअर्काको अस्पतालमा बिरामी प्रेषण गर्नेछन् । यसले बिरामीलाई आवश्यक विशेषज्ञ उपचार सेवा प्राप्त गर्न सहज हुने छ ।
सम्झौतामा चिकित्सा शिक्षा र स्वास्थ्यकर्मीको सीप विकासलाई समेत प्राथमिकता दिइएको छ । आवासीय चिकित्सक, स्नातकोत्तर तहका प्रशिक्षार्थी, मेडिकल विद्यार्थी, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दुवै अस्पतालमा क्लिनिकल रोटेसन र शैक्षिक आदानप्रदानको अवसर प्रदान गरिनेछ ।
यसअन्तर्गत कीर्तिपुर अस्पतालमा जलन उपचार तथा प्लास्टिक सर्जरी र पाटन अस्पतालमा एनेस्थेसियालगायतका विषयमा तालिम तथा व्यावहारिक अभ्यासको व्यवस्था गरिनेछ ।
त्यसैगरी, दुवै संस्थाले संयुक्त रूपमा निरन्तर चिकित्सा शिक्षा (सीएमई), गोष्ठी, सेमिनार, कार्यशाला तथा अनुसन्धानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् ।
समुदायमा आधारित अस्पताल र शैक्षिक स्वास्थ्य संस्थाबीचको संस्थागत सहकार्यलाई थप सुदृढ बनाउँदै विशेषज्ञ उपचार सेवा विस्तार र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा योगदान पुर्याउने लक्ष्यसहित समझदारी गरिएको हो ।