बुधबार, कार्तिक १९, २०८३ | November 4, 2026

बेलायतको लण्डनमा नेपालको पर्यटन प्रवर्द्धन

बेलायतको लण्डनमा नेपालको पर्यटन प्रवर्द्धन

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १९, २०८३

  • 16
    Views
बेलायतको लण्डनमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, कात्तिक १८ गते । बेलायतको लन्डनमा जारी ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन २०२६’ मा नेपालले आफ्ना पर्यटकीय गन्तव्य र पर्यटनका सम्भावना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको छ ।

नोभेम्बर ३ देखि ५ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ । प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्ड, हवाई सेवा प्रदायक, होटल, ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधि सहभागी छन् ।

मन्त्री पौडेलले नेपालको प्रदर्शनी कक्षको औपचारिक उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले भारतका केन्द्रीय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, भारतीय राज्यसभा सदस्य तथा लेखिका सुधा मूर्ति, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी र श्रीलङ्काका पर्यटन उपमन्त्री प्रा. रुवन रणतुङ्गेसँग उच्चस्तरीय भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ ।

भेटघाटका क्रममा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान, पर्यटन क्षेत्रमा लगानी तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ ।

विश्व पर्यटन बजारमा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली साहसिक पर्यटन, मौलिक सांस्कृतिक सम्पदा, आध्यात्मिक तथा दिगो पर्यटनका सम्भावना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको छ । साथै, ‘नेपाल वेलनेस वर्ष २०२७’ लाई विशेष प्राथमिकता दिँदै योग, ध्यान तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जोड दिइएको छ ।

यस सहभागितामार्फत नेपाललाई साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा जिम्मेवार पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउँदै अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार र नयाँ साझेदारी विकास गर्ने लक्ष्य राखिएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha