काठमाडौँ, कात्तिक १५ गते । विद्यालय शिक्षालाई पुर्ण निःशुल्क बनाउन सांसदहरुले माग गर्नुभएको छ । विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न आइतबार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आयोजना गरेको कार्यक्रममा उहाँहरुले शिक्षाका विषयमा संविधानले गरेको व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने समेत बताउनुभयो ।
सरकारले हाल विद्यालय शिक्षासम्बन्धी विधेयक निर्माण गरिरहेको छ । सोही विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुम महर्जनले शिक्षाको सुधार सबैको दायित्व रहेको बताउनुभयो ।
विधेयकमा समावेश हुनुपर्ने विषयबारे घनीभूत संवाद गर्न र सबैलाई न्यायको अनुभूति दिलाउन अपनाउनुपर्ने उपायबारे सुझाव दिन उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा प्रमिलाकुमारी गच्छदारले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन हुनुपर्ने र सरोकारवाला पक्षले उठाएका विषय सम्बोधन हुनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुप्रसाद बरालले सरकारले सही ढङ्गले विद्यालय शिक्षा विधेयक ल्याएर कार्यान्वयनमुखी बनाउनुपर्ने बताउनुभयो । एमालेबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य साजिदा खातुन सिद्धिकीले विधेयक निर्माणमा कुनै बाहिरी पक्ष हावी हुन नहुनेमा जोड दिनुभयो ।
बागमती प्रदेशसभाका सदस्य हरिप्रभा खड्गीले तीन तहबीचको अधिकारको बाँडफाँटमा रहेको अन्योल हट्नुपर्ने र नीति निर्माणमा कर्मचारीतन्त्र हावी हुन नहुने बताउनुभयो । पूर्व शिक्षा सचिव समेत रहनुभएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले निःशुल्क र अनिवार्य शिक्षा सम्बन्धमा सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा व्यक्त गरेको प्रतिवद्धतालाई पुरा गर्नेगरि शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभयो । शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा विधेयकलाई सर्वमान्य हुनेगरि ल्याउने तयारी भइरहेको बताउनुभयो ।