बुधबार, कार्तिक १२, २०८३ | October 28, 2026

ब्रह्ममुहूर्तमा स्नान गर्दै कार्तिक स्नान सुरु

ब्रह्ममुहूर्तमा स्नान गर्दै कार्तिक स्नान सुरु

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 2
    Views
ब्रह्ममुहूर्तमा स्नान गर्दै कार्तिक स्नान सुरु

काठमाडौँ, कात्तिक १० गते। नेपालीको महान पर्व विजयादशमीको समापनसँगै महिनाव्यापी  ‘कार्तिक स्नान’ सुरु भएको छ। सनातन संस्कृतिमा अत्यन्त पवित्र मानिने यस पर्वमा एक महिनासम्म हरेक दिन ब्रह्ममुहूर्त (बिहान ३ बजेर ५५ मिनेट) मा उठेर नुहाउने प्रचलन रहेको छ ।

कोजाग्रत पूर्णिमा वा कार्तिक कृष्ण प्रतिपदादेखि सुरु हुने सो स्नान कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म गरिन्छ । सो अवधिमा सूर्योदयअघि नै पवित्र नदी, तलाउ वा जलमा स्नान गरी पुण्य आर्जन गर्ने परम्परा रहेको धर्मगुरु लेखनाथ शास्त्रीले बताउनुभयो।

उहाँका अनुसार ब्रह्ममुहूर्तमा उठ्नु र स्नान गर्नु शरीर सफा गर्ने प्रक्रिया मात्र होइन, यसले ध्यानमा प्रवेश गर्न ठुलो सहयोग गर्दछ । यो ऊर्जालाई रुपान्तरण गर्ने एक वैज्ञानिक कला हो। मोबाइल फोन वा घडीमा अलार्म लगाएर बिहान जबरजस्ती उठ्नु राम्रो होइन ।

हामीभित्र रहेको चेतनाको आँखा बिहान आफैं खुल्दछ भने त्यो नै वास्तविक ब्रह्मुहूर्त भएको उहाँको भनाइ छ । शरीर र मन प्राकृतिक रूपमा जागृत भएमा मात्र त्यो समय आध्यात्मिक रूपमा फलदायी हुने उहाँले बताउनुभयो। उहाँका अनुसार पानी र हाम्रो चेतनाको गहिरो सम्बन्ध छ।

बिहानको स्नान केवल छालाको फोहोर पखाल्नु होइन, यो ऊर्जाको शुद्धि हो। ब्रह्ममुहूर्तको शान्त वातावरणमा जब शरीरमा शीतल जल पर्छ, त्यसले शरीरको ऊर्जा चक्रलाई सक्रिय बनाउँछ र निद्राको जडतालाई तुरुन्तै तोडेर जागरुकतालाई बढाउँछ। ब्रह्ममुहूर्तमा गरिएको स्नानले गहिरो मौन र ध्यानतर्फ लैजान निकै ठुलो भूमिका खेल्छ।

यदि महिनाभरि यो नियम पालना गर्न सम्भव नभएमा कार्तिक महिनाको अन्तिम तीन दिन (त्रयोदशी, चतुर्दशी र पूर्णिमा) मा मात्र स्नान गर्दा पनि सम्पूर्ण महिनाभरिको स्नान बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ। विष्णु पुराण, स्कन्द पुराण, पद्म पुराण र नारद पुराणजस्ता ग्रन्थमा कार्तिक स्नानलाई भगवान् विष्णुको कृपा प्राप्त गर्ने सर्वोत्तम साधनका रूपमा वर्णन गरिएको छ। यस अवधिमा गरिएको स्नान गर्नाले  हजारौँ पटक गङ्गा नदीमा स्नान गरे सरहको पुण्य फल मिल्ने मान्यता छ।

सो महिनाभरी सात्विक भोजन गर्ने, माछा मासु, अण्डा, मसुरोको दाल, प्याज र लसुनजस्ता खाद्य पदार्थ सेवन नगर्ने नियम रहेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha