काठमाडौँ, कात्तिक १० गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार यही असोज २५ देखि कार्तिक १० गतेसम्मको २४ दिनको अवधिमा कुल एक हजार ३६६ जना चालक कारबाहीमा परेका छन् ।
एक हजार २२५ लाई मापसे कारबाही
२४ दिनको अवधिमा एक हजार २२५ जना चालक मादक पदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा कारबाहीमा परेका छन् । यसले दैनिक औसत ५० जनाभन्दा बढी चालक मापसेमा पक्राउ परिरहेको देखाउँछ ।
यसैगरी, यान्त्रिक गडबडी भएका सवारी साधन चलाएकोमा १०४ जना र लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाएकोमा ३७ जना चालक कारबाहीमा परेका छन् ।
कार्यालयले सार्वजनिक सवारी साधन (भाडाको सवारी साधन) का चालकमाथि पनि विशेष निगरानी राखेको छ । सो अवधिमा सार्वजनिक सवारी चलाउने ४७ जना चालक कारबाहीमा परेका छन् । जसमध्ये ७ जना मापसे र बाँकी ४० जना लापसेको अभियोगमा पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र काफ्लेले सडक नियमको पूर्ण पालना गर्न र जिम्मेवार चालकको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।