नवीन सञ्चार, काठमाडौं । नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले रु. १५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ।
समाजले विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरूको सक्रिय सहभागितामा संकलित रकमसहित थप सहयोग समेटेर उक्त रकम एकमुष्ट रूपमा राहत कोषमा जम्मा गरेको जनाएको छ।
अभियानअन्तर्गत विभिन्न राष्ट्रिय समितिबाट प्राप्त सहयोगमध्ये झापाली समाज अष्ट्रेलियाले रु. ५ लाख, अमेरिका रु. २ लाख, साउदी अरेबिया रु. १ लाख ७७ हजार ११०, माल्टा रु. १ लाख २८ हजार, बेल्जियम रु. १ लाख १० हजार ९७६, नेदरल्याण्ड रु. १ लाख, ओमान रु. १ लाख, कुवेत रु. १ लाख र कतार रु. ५० हजार सहयोग गरेका छन्। यी समितिहरूबाट प्राप्त रकमको जम्मा रु. १४ लाख ६६ हजार ८६ रहेको छ।

राहत हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाई, संस्थापक अध्यक्ष तथा संरक्षक दिनेश पोखरेल, पूर्वअध्यक्ष तथा संरक्षक मुकुन्द ढुंगाना, संघीय सांसद प्रकाश पाठक, नेपाल समन्वय समितिका संयोजक राजु थापा लगायत विभिन्न राष्ट्रिय समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समाजले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण राष्ट्रिय समितिका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, अभियन्ता, समाजसेवी, व्यवसायी तथा सहयोगी दाताहरूलाई धन्यवाद तथा आभार व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय झापाली समाजमार्फत गरिएको रु. १५ लाख सहयोगबाहेक विभिन्न राष्ट्रिय समितिहरूले आ–आफ्नो तर्फबाट छुट्टै रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्। ती रकमको विवरण संकलन भइरहेको र सम्पूर्ण विवरण प्राप्त भएपछि विश्वभरका झापाली समाजहरूको कुल राहत योगदानको समग्र विवरण सार्वजनिक गरिने समाजले जनाएको छ।