११ साउन, काठमाडौं । रोटरी क्लब अफ कीर्तिपुरको आयोजना तथा कीर्तिपुर नगरपालिकाको समन्वयमा बल्खु करिडोरको जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म वृहत् वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्की प्रमुख, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल विशेष र वडा नं= २ का वडाअध्यक्ष रुपेश महर्जन अतिथिका साथै कीर्तिपुर नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको क्लवले जनाएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ कीर्तिपुरका अध्यक्ष रोटेरियन रमेशमान डंगोलले वातावरण संरक्षण, हरित सहर निर्माण तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण सिर्जना गर्न वृक्षारोपण अभियानको महत्वमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ कीर्तिपुरका पूर्व अध्यक्ष रोटेरियन पुष्पराज अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने कीर्तिपुर नगरपालिका, सहआयोजक रोटरी क्लबहरू, स्थानीय संघ–संस्था, टोल सुधार समितिहरू, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
यस अभियानमा रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ ठिमी, रोटरी क्लब अफ नेपाल मण्डल तथा रोटरी क्लब अफ बागलुङ लगायत विभिन्न रोटरी क्लबहरू, स्थानीय संघ–संस्था, टोल सुधार समितिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत कपुर, धुपी, आँप, कल्की फूल, तेजपात, कडीपत्ता लगायत विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली प्रवर्द्धन गर्ने तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवाको छनोट गरिएको आयोजकले जनाएको छ।
वृक्षारोपणसँगै सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो। यस अभियानले बाल्खु खोला करिडोर क्षेत्रलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा कार्यक्रम संयोजक रोटेरियन पुष्पराज अधिकारीले बाल्खु खोला करिडोरका बाँकी रहेका खाली स्थानहरूमा समेत साप्ताहिक रूपमा निरन्तर वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले स्थानीय सरकार, रोटरी क्लबहरू, स्थानीय संघ–संस्था तथा समुदायको सहकार्यमा सम्पूर्ण करिडोरलाई हराभरा र नमुना वातावरणीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रम संयोजक रोटेरियन पुष्पराज अधिकारीका अनुसार वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा हरित नेपाल निर्माणमा योगदान पुर्याउने उद्देश्यले यस्ता अभियानलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइनेछ ।
