नवीन समाचार खमिस साउदी अरव
खमिस मुशैतमा गायिका लक्ष्मी स्याङताङ तामाङको सांगीतिक प्रस्तुति रहने, नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा बृहत् सांस्कृतिक कार्यक्रम हुने
साउदी अरबको खमिस मुशैत क्षेत्रमा चर्चित राष्ट्रिय गायिका लक्ष्मी स्याङताङ तामाङको विशेष सांगीतिक प्रस्तुति रहने गरी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली समुदायबीच एकता अभिवृद्धि गर्दै नेपाली कला, भाषा, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने मूल उद्देश्यसहित आगामी २७ मे २०२६ बुधवार उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।।
मौलिक गीतसंगीतलाई आधुनिक शैलीसँग जोडेर दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेकी गायिका लक्ष्मी स्याङताङ तामाङका चर्चित तथा दर्शकमाझ रुचाइएका गीतहरूले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेका उनका सांगीतिक प्रस्तुति, मौलिक भाका तथा स्टेज प्रस्तुतीकरणले खामिस आसपासमा रहेका नेपालीहरूलाई मनोरञ्जनसँगै मातृभूमिको सम्झना दिलाउने विश्वास आयोजकको रहेको छ। कार्यक्रममा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने जनाइएको छ।
खमिस मुशैतस्थित कृष्टल हल अल मोसा तन्दहामा बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा साउदी अरबको आभा खमिस तथा आसपास क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन आयोजकले हार्दिक अनुरोध गरेको छ। प्रवासमा रहेर पनि नेपाली मौलिक कला र संस्कृतिलाई जोगाइराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।