२४ चैत, काठमाडौँ । सरकारले दलीय भागबन्डाका आधारमा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ताको निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, भारतका लागि नेपाली राजदूत शंकर शर्मा, डेनमार्ककी सुम्निमा तुलाधर, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीलाई १ महिनाभित्र फिर्ता हुन भनिएको छ । यसबारे सम्बन्धित राजदूतावासलाई मन्त्रालयले पत्राचारसमेत गरिसकेको छ ।