काठमाडौँ, ११ चैत्र
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष प्रदान गरिने रु. २५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार, वर्ष २०८२ का लागि रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीेलार्ई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानका अध्यक्ष, कवि तथा निबन्धकार मोमिलाद्वारा जारी गरिएको एक विज्ञप्तिअनुसार प्रतिष्ठानका उपाध्यक्ष तथा पुरस्कारका संस्थापक राजेश्वर कार्कीको अध्यक्षतामा चैत्र १० गते काठमाडौँमा बसेको प्रतिभा चयन समितिको बैठकले साहित्यलाई आत्मसात गर्दै समाजसेवीका रूपमा समेत आफूलाई समर्पित गरी महत्त्वपूर्ण वाङ्मयिक योगदान पु¥याए वापत वलीलाई उक्त पुरस्कारले सम्मानित गर्ने निर्णय गरिएको हो ।
यसै गरी, प्रतिष्ठानले अमेरिकी मानवशास्त्री तथा अध्येता स्वर्गीय प्रा. डा. ग्रेगरी जी. मस्कारिनेकको स्मृतिमा स्थापित रु.२०,००० राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार २०८२ कला, साहित्य तथा संस्कृतिको उत्थानमा समर्पित सोलखुम्बुुका स्रष्टा युमन खालिङ्लाई प्रदान गर्ने निर्णय गरेको छ ।
दुवै पुरस्कारहरू काठमाडौँभन्दा बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका कारणले स्थानीय संयोजनसहित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजनामा चैत्र २८ गते सोलुखुम्बुमा सम्पन्न हुन गइरहेको विशेष सिर्जना उत्सव समारोहका बिच समर्पण गर्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
स्मरण रहोस् योगेश्वर वाङ्मय पुरस्कार यसअघि स्रष्टाहरू डा. कृष्णराज डी. सी., अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा, डा. मधुसूदन गिरी, श्री डी.बी. टुहुरो, पुष्कर अथक रेग्मी, बिमल वैद्य र अमर शाहलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कार यसअघि शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागार्इं, मनोहर लामिछाने, नवीन विभास, राजेन्द्रगोपाल सिंह, भरत गुरुङ र मनलाल ओलीलाई प्रदान गरिसकिएको छ ।