दोहा, कतार: मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित परोपकारी संस्था कतार च्यारिटीको सहयोगमा कतारमा बसोबास गर्ने निम्न आयस्रोत भएका नेपाली मुस्लिम परिवारहरू तथा हाल मध्यपूर्वमा विकसित परिस्थितिका कारण समस्यामा परेका नेपालीहरू लाई खाद्य सामग्री वितरण गरिएको छ।उक्त सहयोग कार्यक्रम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा सञ्चालन गरिएको हो। एनसीस कतारले यसअघि एक सार्वजनिक सूचना जारी गर्दै समस्यामा परेका नेपालीहरूलाई सहयोग पुर्याउने उद्देश्यले फुड किट वितरण कार्यक्रम सुरु गरिएको जानकारी दिएको थियो।

सोही कार्यक्रम अन्तर्गत मिति १३ मार्च २०२६ (शुक्रबार) का दिन अन्तराष्ट्रिय मुस्लिम समाज कतारलाई ५० बक्स फुड किट हस्तान्तरण गरिएको छ। यसका साथै दोहामा विभिन्न कारणले समस्यामा परेका नेपाली समुदायका सदस्यहरूलाई थप ४० बक्स फुड किट वितरण गरिएको जानकारी एनसीसी कतारका महासचिव शिव भुजेलले दिएका छन्।उनका अनुसार रमादानको समयमा रोजा बसिरहेका निम्न आयस्रोत भएका परिवारहरूलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले यो सहयोग कार्यक्रम सञ्चालन गरिएको हो। आगामी दिनहरूमा पनि आवश्यकताका आधारमा सहयोग वितरण कार्यलाई निरन्तरता दिइने उनले बताए।

यसै सन्दर्भमा एनसीसी कतारका अध्यक्ष पदम गिरीले नेपाली समुदायका विभिन्न अवसर तथा आवश्यकतामा कतारका परोपकारी संस्थाहरूले निरन्तर सहयोग गर्दै आएको बताए। विशेष गरी कतार च्यारिटी र रेड क्रोसेंड जस्ता संस्थाहरूले नेपाली समुदायलाई आवश्यक पर्दा मानवीय सहायता प्रदान गर्दै आएको उनको भनाइ छ।अध्यक्ष गिरिका अनुसार एनसीसी कतारको आधिकारिक सामाजिक सञ्जाल मार्फत यसअघि प्रकाशित सूचना अनुसार यदि कोही नेपाली हाल समस्यामा परेका छन् वा त्यस्ता व्यक्तिहरूको जानकारी कसैसँग भएमा एनसीसी कतारलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

हालको असहज परिस्थितिमा कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाई आवश्यक सहयोगका लागि एनसीसी कतारले समन्वय गरिरहेको उनले बताए। केहि गरि समस्या परेको अवस्थाका लागि रोशन अर्याल (श्रमिक विभाग प्रमुख) लाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। एनसीसी कतारका अनुसार मानवीय सहयोग र सामुदायिक एकताको भावनालाई प्राथमिकता दिँदै आगामी दिनहरूमा पनि आवश्यकताका आधारमा खाद्य सामग्रीहरु वितरण तथा अन्य सहयोगका कार्यक्रमहरू लाई निरन्तरता दिइनेछ।