रियाद, पौष ११ नबिनसन्चार
नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन शुक्रबार रियादमा निर्विरोध रूपमा सम्पन्न भएको छ।
अधिवेशनका वक्ताहरूले यसलाई नेपाली काँग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि सकारात्मक सन्देशका रूपमा उल्लेख गर्दै आपसी समझदारी र सहमतिमै समयमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सच्चिन सन्देश दिएको बताउनुभयो। उहाँले वर्तमान राजनीतिक अवस्थाको निकास निर्वाचन भएको उल्लेख गर्दै काँग्रेस निर्वाचनमा इमान्दारितापूर्वक लागिरहेको दाबी गर्नुभयो।
प्रवासमा रहेका योग्य र क्षमतावान नेपालीहरूको योगदानमार्फत पर्यटन विकास गर्दै नेपालको समग्र विकास सम्भव रहेको उहाँको भनाइ थियो।
तेस्रो अधिवेशनले निवर्तमान सभापति अर्जुन बहादुर थापाको सभापतित्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। वरिष्ठ उपसभापतिमा सुरेशराज त्रिपाठी चयन हुनुभएको छ भने उपसभापतिमा पदम प्रसाद पाण्डे, नरेश सापकोटा र गोपाल पंगेनी निर्वाचित हुनुभएको छ।

त्यसैगरी अरुण वेल्वासे र मोहन अधिकारी महामन्त्रीमा निर्वाचित हुनुभएको छ।
कार्यक्रममा रियादस्थित नेपाली दूतावासका श्रम कन्सुलर कविराज उप्रेती, नेपाली काँग्रेस जनसम्पर्क समन्वय विभागका सदस्य तथा महासमिति सदस्य पुरुषोत्तम काफ्ले लगायतले प्रवासमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानमा जनसम्पर्क समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
यसै अधिवेशनमार्फत साउदी अरबमा कार्यरत २२ जना युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
