गण्डकीपुत्र
ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रीट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशब बैरागी माइलोले ४/५ दिन अघि नै फोन गरेका थिए । त्रिवेणी साहित्य मञ्चको कार्यक्रम थियो । साहित्यिक कार्यक्रममा बोलाएपछि भरसक पुग्ने कोशिस गर्छु । नोभेम्बर २८ तारिक १ :०० बजे स्प्रीङ हूड रोडमा निवासी बाँसुरी बादक फुर्बा तामाङलाई फोन गरें । उनले ल म निस्किए भने । मैले कार्यक्रम स्थल आइपुगेको जनाउ दिए । उनी ५/७ मिनटमा आइपुगे ।
हलमा ५०/६० जना लगभग ७५ बर्षदेखी माथीका ज्येष्ठ नागरिकहरु बसेका थिए । प्राय जसोले तिलक लगाएका , चन्दन लगाएका महिला र पुरुषहरु थिए । यी ज्येष्ठ नागरिकका बीचमा पुग्दा एकप्रकारको आनन्द अनुभव भयो । त्रिवेणि मञ्चका पदाधिकारीहरु मञ्च ब्यबस्थापन र अन्य अतिथीहरुलाई सभाकक्षमा स्वागत गरिरहेका थिए । मञ्चका अध्यक्ष केशब बैरागी माइलो , सचिव नारद आचार्य “सुदामा”, उपाध्यक्ष प्रेम घिमिरे , कविहरु पर्मा अधिकारी कान्छो , इन्दिरा प्याकुरेल , मिरा अधिकारी , देवि दागाने सबै तयारीमा लागेका थिए । डे केयर सेन्टर संबद्ध नेत्र आचार्य , यदु आचार्य , बिरज रिमाल , सुधा खतिवडा लगायतका कर्मचारीहरु सभाकक्षमा आवश्यक कुरा मिलाउन व्यस्त देखिन्थे । आधा जीवन भूटानमा व्यतीत गरेर शरणार्थी हुनुपरेको यहाँ उपस्थित यी समाजका अग्रज नागरिक मनमा आफू जन्मिएको माटोको प्रेम अझै जिवित रहेको प्रमाण उनीहरुका आफ्ना भावले दिइरहेको थियो ।

मञ्चका सचिव नाराद आचार्य “सुदामा” ले कार्यक्रमको औपचारिक पोको खोले र कार्यक्रमलाई मिठो शैलीमा अघि बढाए । यो विशेष कवि गोष्ठीका विशेष अतिथी थिए ८७ वर्षीय कुल न्यौपाने । कार्यक्रम अभुतपुर्व शान्त थियो । प्रत्येकको अनुहारमा कौतुहलता थियो । वाचन गरिएका कविता मन लगाएर सुनेको आभाष उनीहरुको शिर हल्लाइको भावबाट बुझिन्थ्यो । कविता वाचनकै बीचमा बाँसुरी वादक फुर्बा तामाङले बाँसुरीको मीठो धुन बजाए । रेसम फिरिरी , रेसम फिरिरी , अहो ! पुरै हल बाँसुरीको लय समातेर गीत गाउन थाल्यो । केही पाका मानिसहरू उठेर बाँसुरीकै लयमा नाच्न थाले । बैंसमा यिनले कति गीत गाए होलान् , कति नाचे होलान् ? कतिले बिहेमा श्लोक हाले होलान् ? यी कहिले वर्खामा बाउसे भए होलान । यी बृद्धअबश्था कि आमैले कति खेत रोपिन होला , भिर पहरामा चढेर कति घाँस काटिन होला ? छोराछोरी जन्माउन हुर्काउन कति कष्ट बेहोरिन होला । अमेरिका पुर्नवासमा आएपछि कतै सुस्ताएर साथीसँगै गफ गर्ने चौतारो भेटिनन् , पँधेरो भेटिनन् र घरभित्रै चुपचाप भएर बस्नु पर्यो होला । घरमा उमेर पुगेका कोहि बिहानै काममा निस्कन्छन । कोहि राती काममा जान्छन । सबै ब्यस्त भएपछी घरमा पनि धक फुकाएर बोल्ने अबस्था नहुँदो हो । अहिले घरको चौघेराबाट बाहिर निस्किएर यो डे केयर सेन्टरमा आएका छन् । मनमा लागेका कुराजस्तै आफ्ना साथीहरूसँग आफ्नो अतित सुनाउँदा हुन । गीत बज्न थालेपछी कोहि ताली बजाउन थाले , कोहि उठेर नाच्न थाले । यिनलाई देखेपछी लाग्यो उमेर त खाली नम्बर मात्र हो । रमाइलो गर्न , नाँच्न , गाउँन उमेरले छेक्दैन । यसपटक कविहरुले यिनै पाका मानिसका बिगत सम्झाउने कविता सुनाएका थिए ।

धेरै जनाको लागि म नौलो थिए । मलाई सोध्थे तपाईं के थरी ? कहाँबाट आउनु भएको ? यो सोधखोज नेपालीहरुको सँस्कृती नै हो । नौलो मानिस गाउँमा देखियो भने सोधिखोजी गरिन्छ । नाता सम्बन्ध केलाइन्छ र त्यही आधारमा सम्बोधन गरिन्छ । दाजु , भाइ , काका , बडाबा , दिदीबहिनी , काकी , फूपू आदि । मलाई एकजना मित्र तुलसी ढुङ्गाना भेना भन्छन । यी पनि भूटानमै जन्मिएर नेपाल हुँदै अमेरिका आएका । चेम्बरहिल रोड ह्यारिसबर्गमा बस्ने उनि मेरी श्रीमतीका नाताले मावली भाइ पर्ने रहेछन । मेरी श्रीमतीका मावली ढुङ्गाना , उनी पनि ढुङ्गाना । यसरी साइनो केलाएर सम्बोधन गर्ने चलन हाम्रो परम्परा हो । तुलसी ढुङ्गानाले त्यो परम्परा कायम राखेका रहेछन ।अहिलेको आधुनिक पुस्तालाई यो कुरा अनौठो हुँदैं गएको छ । अचेल एकले अर्कोलाई देख्यो भने केही नबोली हिड्छ । आफ्नो साँस्कृतिक सभ्यताबाट बेखबर आजको पुस्ता सभ्यभएको नाटक गर्छ र असभ्य भएर हिड्छ । मलाई पनि कसैकसैले भन्छन यो अमेरिका हो जो पायो त्यहीसँग नबोल्नु । एक नेपाली भाषी अर्को नेपाली भाषी या एक नेपाली जाती अर्को नेपाली जातीसँग यो विशाल भुगोलमा कसरी बिरानो हुन्छ । हामी कति नै छौं र अपरित भएर बस्नलाई ।
एकजना पाका ब्यक्ती मेरो छेउमा आउनु भयो र भन्नु भयो , तपाईं के थरी ? म खतिवडा हुँ मैले भने । वहाँले फेरि सोध्नु भो कति नम्बर ? २७ नम्बर मैले भने , उहाँले भन्नुब भो तिमी मेरा भतिज परेछौ । हामी काका भतिजा भयौं र अघिसम्म नचिनेका हामी एउटै परिवारको सदस्य जस्तो आत्मिय भयौं । हामी इलामका खतिवडा हौं वहाँले भन्नु भो । म तेह्रथुम मोराहाङको खतिवडा हुँ मैले मेरो पुर्ख्यौली ठाउँ बताएँ । म जन्मनु भन्दा चालीस बर्ष अगाडि हाम्रा बा मोरङ जिल्लाको झोराहाट बसाइँ सरेपनी म झोराहाटको थिइन तेह्रथुम मोराहाङको थिएँ । पुर्ख्यौली थात थलोले हामीलाई नछोड्ने रहेछ । झोराहटमा हाम्रो सय बर्षको इतिहास भएपनी हामी अझै झोराहाटको हुन सकेका थिएनौ ।
कार्यक्रमा कविताको क्रम चली नै रहेको थियो । मैले हामीसङ्गै छ हाम्रो परिचय शीर्षक कविता सुनाए।

छोडिए पनि सबै कुरा
छोडिएन आफ्नो पहिचान
आफ्नो जातिको गौरव गाथा छोडिएन पुर्खाले लडेको बिरताको कथा
अहिले हामीसङ्गै छन
दशैको मेला र तिहारको देउसी
हामीसङ्गै छन सिलि र साकेलाहरु
रोदिको मादल र ल्होसारको गीत
हामीसङ्गै छन
हामीले पुज्दैआएका देवि-देउता
गायत्री मन्त्र मुन्धुम र पालमहरु
आमाको माया हामीसङ्गै छ
बाबाको भरोसा हामीसङ्गै छ
साथीको साथ र मायालुको हात
हामी सङ्गै छ ।
त्रिवेणी साहित्य मञ्चले ह्यारिसबर्गमा साहित्यिक अभियान चलाई रहेको छ । अग्रजलाई सम्मान गर्ने तिनका योगदानलाई सम्झने काम निरन्तर गरिरहेको छ । विशेष अतिथी कुल न्यौपानेलाई त्यस अबसरमा दोसल्ला ओढाएर मञ्चका अध्यक्ष केशव बैरागी माइलो र ब्राइडहुड डे केयर सेन्टरका तर्फबाट नेत्र आचार्यले सम्मान गरेको थिए । कार्यक्रमको निरन्तरता सङ्गै सहभागी सबैलाई खाजाको प्रबन्ध मिलाइन सुधा खतिवडाले । हार्दिक आत्मियताकासाथ उनले सबैलाई खाजामा सहभागी गराइन । अग्रजप्रती उनले दर्शाएको सम्मानले सबै हर्षित देखिन्थे ।

खाजा पश्चात् अर्को आकर्षक कार्यक्रम थियो शताब्दी पुरुष मनोरथ तिम्सिनाको जन्मोत्सब । १ सय बर्षका यी ज्येष्ठ नागरिकको सम्मानमा फुर्बा तामाङले बाँसुरीबाट मंगल् धुन बजाए भने उपस्थित सबैले मंगल मन्त्रोच्चारण गरे । मनोरथ तिम्सिना पिता छविलाल तिम्सिना र माता देवका तिम्सिनाका माइला सुपुत्रका रुपमा १९२५ नोभेम्बर १ तारिक भूटान राज्यको चिराङ लब्सिबोटेमा जन्मनु भएको थियो । भूटानमा एक इमान्दार कृषकका रुपमा परिवारको पालन पोषण गर्दै आउनु भएका मनोरथ सन् १९९२ मा शरणार्थीका रुपमा नेपाल पप्रवेश गर्नु भयो । ३ छोरा र ४ छोरीका पिता उहाँ २००९ मा पुनर्वासको क्रममा अमेरिका आउनु भएको हो । पेन्सिलभेनिया राज्यको मुख्य शहर ह्यारिसबर्ग निवासी तिम्सिना सादा जीवन र उच्च सोच भएका एक अध्यात्मवादी ब्यक्तित्व हुनुहुन्छ । एक सय बर्षको उमेरमा पनि सचेतता पुर्वक कुरा सुन्ने र जवाफ दिन सक्ने क्षमता हुनु आफैमा गर्वको विषय हो । यस्ता शताब्दी पुरुषको जन्म तिथि पारेर सम्मानको कार्यक्रम आयोजना गरेर ब्राइडहुड एडल्ट डे केयर सेन्टर र त्रिवेणी साहित्य मञ्चले सह्रानिय काम गरेको छ । शताब्दी पुरुष मनोरथ तिम्सिनाको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरौं र उहाँहरु हिड्नु भएको सतमार्गमा हिड्ने प्रेरणा प्राप्त गरि रहुँ । मेरो पनि सतसत नमन सहित जन्मदिनको यस अबसरमा शुभकामना !
मैले मनमनै सोचें । समाजमा रहेका यस्ता सामाजिक संस्थाहरुले भाषा र साहित्यलाई यसरी महत्व दिएर साथै हिड्ने हो भने हाम्रो भाषा मर्ने थिएन । सर्जकहरु हराउने थिएनन् । अग्रजका भावना सुन्ने र बुझ्ने अबसर मिल्ने थियो ।
