काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । राजीनामा दिँदा अधिकांश कर्मचारीले घरायसी कारण देखाए पनि प्रस्तावित सङ्घीय निजामती विधेयकमा गरिएको व्यवस्था र कुनै पनि अध्यादेश जारी हुन सक्ने आशङ्काले कर्मचारीले धमाधम राजीनामा दिन थालेका हुन् ।
विधेयकमा ऐन प्रारम्भ हुँदाको बखत ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष छ । नयाँ व्यवस्थामा त्यसपछिका कर्मचारीको अवकाश उमेर ६० वर्ष पु-याउने प्रस्ताव छ । यस्तै प्रस्तावित विधेयकमा पेन्सन गणनामा अधिकतम ३० वर्षको सीमा राखिएको छ ।
विधेयकमा पेन्सन गणना गर्दा अधिकतम ३० वर्षको सेवा अवधि मात्र जोडिने व्यवस्था छ । यही व्यवस्थाले गर्दा कर्मचारीले धमाधम राजीनामा दिन थालेको राष्ट्रिय किताबखानाले जनाएको छ । किताबखानाका निर्देशक सुधन ख्वाखली श्रेष्ठले कर्मचारीले पछिल्लो समय राजीनामा दिने क्रम बढ्दै गएको बताउनुुभयो । उहाँले भन्नुभयो, “राजीनामा दिँदा अधिकांशले घरायसी र व्यक्तिगत कारण देखाएका छन् । पछिल्लो समय भने राजीनामा दिने क्रम दैनिक बढ्दै गएको तथ्याङ्कमा उल्लेख छ ।” यसैले ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई थप सेवा गर्दा पेन्सन बढ्ने लाभ गुम्न सक्ने चिन्ता छ । यही कारणले केही कर्मचारीले प्रस्तावित कानुन लागु हुनुअघि नै राजीनामा दिएर हालको व्यवस्था अन्तर्गतको सुविधा सुरक्षित गर्न खोजेका हुन् ।