मङ्लबार, कार्तिक ११, २०८३ | October 27, 2026

असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु भयो आपूर्ति

असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु भयो आपूर्ति

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 7
    Views
असोजमा ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु भयो आपूर्ति

 

नवीनसञ्चार  सम्वाददाता

काठमाडौं, १० कात्तिक २०८३ ।

नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत निर्यातबाट प्राप्त आम्दानी गत वर्षको असोज र चालु आवको भदौको तुलनामा बढेको हो। यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ।

नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको थियो। उक्त विद्युत बिक्रीबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो।

प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय विद्युत बिक्री सम्झौताअनुसार विद्युत बिक्री गरेको थियो। बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।

गत वर्षको असोजमा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो।

यस वर्षको असोजमा गत वर्षको सोही महिनाको तुलनामा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ। भदौको तुलनामा पनि असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत निर्यात भएको छ।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालले विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको हो। उहाँले असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको जानकारी दिनुभयो।

बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरु

नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेशतर्फ विद्युत निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएको थियो। त्यसपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको थियो। बाढीबाट जलविद्युत आयोजनामा भएको क्षतिका कारण भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।

भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रमा उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि आपूर्ति पुनः सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको आपूर्ति पुनः सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि हो। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने व्यवस्था छ।

विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

भारत र बंगलादेशमा विद्युत निर्यात विस्तार हुँदै जाँदा वर्षायाममा नेपालमा खपत हुन नसक्ने अतिरिक्त विद्युतको बजार व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। यसले जलविद्युत उत्पादनको व्यावसायिक उपयोग बढाउनुका साथै नेपालको क्षेत्रीय ऊर्जा व्यापारमा समेत योगदान पुर्‍याउने देखिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha