शनिबार, साउन २, २०८३ | July 18, 2026

कविता – एउटा साँझ

कविता – एउटा साँझ

  • Naveen Sanchar

  • मङ्लबार, पुस १०, २०८०

  • 485
    Views
कविता – एउटा साँझ

भारती न्यौपाने 

मेरो छेवैबाट उज्यालो बोकेर
परसम्म सुस्तसुस्त हिँडिरह्यो
एउटा मत्याइलो साँझ,
एकमुठी उज्यालो मेरो अनुहारमा पोखेर ।

कुसुमाकरको आँचलमा
सम्झनाका बासनादार कुसुमहरू फुलाएर
पर्खिरहेँ म, जहाँबाट ऊ गएथ्यो छोडेर
एउटा अनौठो सपना आँखामा सजाएर।

हिउँदे रातहरू तपतप सङ्गीतमय शीत भर्दै
अन्धकारमा अलिकति जूनको उज्यालो सापटी मागेर
दृश्यहरूलाई स्पर्श गर्दैथिए
उही प्रेमिल आँखाबाट तस्बिरहरू ओह्रालेर।
यही गतिमा अनेक ऋतुहरू छेवैबाट उक्लिरहे अनि ओर्लिरहे।

त्यो पर्खाइको अनन्त क्षण थियो,
मेरै अनुहारमा पोखिएको धुमिल उज्यालोले सोधिरहेथ्यो
एक झोक्का चिसो बतासलाई,
ए बतास! कहाँ गयो होला त्यो मादक साँझ?

बतास मुस्कुराउँदै भनिरहेथ्यो,
‘पर कतै परिश्रमका थोपाहरू बटुल्न
सायद उसलाई आमाको फुटेका गोडामा मलम लगाउनु छ,
बुबाको बुढी औँठाको छाप लागेको तमसुक च्यात्नु छ
र तिम्रा रहरसँगै उसका रहर मिसाएर यही माटोमा
अमिट मुस्कान पोख्नु छ ।
त्यसैले,
ऊ फर्किने छ एकदिन पूर्णिमाको जून बोकेर
तिमीलाई भेट्न, तिम्रो गाउँको माटोलाई चुम्न।’

मभित्र जोडजोडले धड्किरहेको ढुकढुकी बोल्यो,
‘फेरि आउने छ त्यो मदमत्त साँझ र
मलाई अगाल्ने छ असीम प्रेमभित्र।’


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha