मङ्लबार, फाल्गुन २२, २०८० | March 5, 2024

विद्यालय, पठन संस्कृति र चिन्तन

विद्यालय, पठन संस्कृति र चिन्तन

  • Naveen Sanchar

  • आइतवार, पुस १, २०८०

  • 223
    Views
विद्यालय, पठन संस्कृति र चिन्तन

प्रकाश अधिकारी

 

आमुख

प्रज्ञा नेपाली बृहत् शव्दकोश भन्छ, ‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समिष्टि नाम संस्कृति हो ।’ देश, काल, परिवेश, समयको वेग र हुङ्कार बुझ्न संस्कृति बुझ्नु पर्छ । संस्कृति बुझ्ने कला भनेको पढ्ने कला हो । पढ्ने कला अर्थात् पठन संस्कृति । समान्यतया पढ्ने बानी वा संस्कारलाई पठन संस्कृति भनेर बुझ्दा पनि हुन्छ । नेपाली समाजमा अझै पनि पाठ्यपुस्तकइतर पुस्तक पढ्नुलाई समयको बर्बादीका रूपमा बुझिन्छ । पुस्तक पढ्नु समयको बर्बादी होइन । पुस्तक पढ्नु एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत पहिल्याउनु हो । पुस्तक पढ्नु भनेको जीवन पढ्नु हो ।

पुस्तक पढ्नुका अनेक लाभ छन् । धेरै शोधबाट पुष्टि भएको छ कि पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ । दिमागी तनाव कम गर्नका लागि पुस्तक पढ्नु निकै उपयोगी हुन्छ । सन् २००९ मा युकेको सेसेक्स युनिभर्सिटीका वैज्ञानिकले हार्ट रेट र मसल टेन्सन मनिटरिङको माध्यमले जाँच गर्दा पठनपाठनले तनावको स्तर घट्छ भन्ने तथ्य पत्ता लगाए । मलाई प्रख्यात अङ्ग्रेजी साहित्यकार जोसेफ एडिसनले उहिल्यै भनेको याद आयो, ‘रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी ।’ यो कुरा हामीले कहिले बुझ्ने ? कहिले बुझाउने ?

विद्यालय र शिक्षण–संस्कृति

पठन संस्कृतिको विकासमा सिकारु स्वयम्, घरपरिवार र विद्यालयको भूमिका अपरिहार्य हुन्छ । अहिले सिक्ने ठाउँ विद्यालय मात्र हो, सिकाउने शिक्षकले मात्र हो भन्ने भ्रम छ । यो पठन संस्कृतिको कन्तबिजोग छ भन्ने प्रमाण हो ।

सिकाइ मुटुको धड्कन वा नाइल नदीको वहावजत्तिकै निरन्तर हुनपुर्छ भन्ने धारणा विद्यालयले दिन सकेन । आजको शिक्षा व्यवस्थाले विद्यार्थीलाई परीक्षामुखी मात्र बनायो । “रुखको डालीमा बसेको चरीलाई रुख ढल्न लाग्यो भनेर कुनै चिन्ता हुँदैन, किनकि उसलाई रुखको होइन् पखेटाको विश्वास हुन्छ” भन्ने न त विद्यालयले जान्यो वा सिकायो, न त शिक्षक–अभिभावकले पठन संस्कृतिप्रति चासो राखे ।

आजभोलि  ‘पढने सीप’  यान्त्रिक कौशलका रूपमा विकास भएको छ । एउटा उदाहरण हेरौँ ।  वि.स. २०७८ मा पहिलोपटक म माध्यमिक तहको सामाजिक शिक्षक भएर पश्चिम म्याग्दीको देवीस्थानमा पुगेको थिएँ । म हरेक पहाडमा बाटो देख्नुपर्छ भन्ने मान्यता बोकेर टोनी हागेनको नजरमा संसारकै सुन्दर उपत्यका पोखराबाट विकट गाँउ छिरेको थिएँ । मैले त्यहाँ हरेक बाटोमा पहाड भेटेजस्तो अनुभूति गरेँ । तपाईं पनि देशका अपवाद बाहेकका विद्यालय पुग्नुभयो भने यस्तै अवस्था भेट्नुहुनेछ । पहिलो कक्षाका नानीबाबुहरू अक्षरका आकृतिसँग खेल्दैछन् । तिनको ‘नाम’ कण्ठ पार्दैछन् । क–ख–ग–घ अथवा क–का–कि–की रटिरहेका छन् । अक्षर र ध्वनिकाबीच सम्बन्ध स्थापित गरिरहेछन् । शिक्षा विज्ञानका दृष्टिले हेर्ने हो भने यो तरिका पूर्णतः अवैज्ञानिक छ । कसले बुझ्ने बुझाउने ? अनुगमन कसले गर्ने ? शिक्षक तालिमको ‘हाई डोज’ले थलिएका विद्यार्थीहरू । यसरी पाइला–पाइलामा रटेर याद गर्नु अर्थात् पहिले अक्षरको आकृति, त्यसपछि वर्णमाला, अक्षरको क्रम, ध्वनिहरू, अक्षर र ध्वनिका बीचको तालमेल अनि मात्राहरू कण्ठ गर्नु, त्यसपछि बल्ल अक्षरहरू मिलाएर शब्द पढ्ने मौका पाउनु, जस्तै क–म–ल, पहिलो कक्षाका बच्चाहरूका निम्ति एक प्रकारको यातना नै हो । पढ्न सिकाउने यस्ता पारम्परिक विधिले बच्चालाई स्कूलप्रति निरुत्साहित बनाउँछन् । निरुत्साहित मात्रै बनाउँदैन निराश र अरूका दृष्टिमा बदनाम पनि गर्छ ।

नेपालमा सिँजा, मगरात, नेवा, मिथिला, किरात र थारू जस्ता अनेक सभ्यताहरू छन् । यी सभ्यता बारे नेपालीलाई नै थाहा नहुने अवस्था भइसकेको छ । त्यस्तै गरी भाषा र संस्कृति पनि बिस्तारै ओझेलमा परिसकेका छन् । मानव सभ्यता, संस्कार र संस्कृतिको वारेमा पढ्ने विद्यार्थी छैनन् । ती सभ्यता  शिक्षाले बुझाउन सकेन । व्यवहारिक ज्ञान दिलाउन सकेन ।

हाल यो पंक्तिकार बागलुङको तमानखोलामा कार्यरत छ । यहाँको हालत पनि ठ्याक्कै उस्तै छ । मलाई एकदम पीडाबोध भएर आउँछ । पालिकाभर २१ विद्यालय छन् जहाँ शिक्षक निर्देशित शिक्षण सिकाइ, लेख्य रूपमा मात्र होमवर्क र कलास वर्क दिने ‘पुरातन चलन’ छ । ‘केही विद्यालय’ मा र पालिकामा एउटा पुस्तकालय भएपनि पठन संस्कृतिको विकास भएको खासै देखिँदैन । न वडास्तरीय वाचनालय छ न कुनै सामुदायिक पुस्तकालय छ । न त सामुदायिक सूचना केन्द्रले नै पठन संस्कृतिबारे काम गर्दछ ।  यसरी हेर्दा जुन सांस्कृतिक स्थितिका बीच हाम्रा स्कूलहरू चलिरहेका छन्, त्यहाँ केटाकेटीले पाठ्य पुस्तक ‘इतर’ पढ्नुलाई उति राम्रो कुरै मानिँदैन ।

विद्यालयमा पठन सीपको विकास गर्न नसकेकै कारण सुरुचिपूण पठनपाठन नहुने, पढाइमा गहिरो ध्यान नहुने र सकेसम्म पढाइबाट उम्कने प्रवृत्ति विद्यार्थीमा देखिन्छ । सफल हुन, ज्ञानको प्राप्तिका लागि पढ्नेभन्दा वार्षिक परीक्षामा पास हुनैका लागि मात्र पढ्ने विद्यार्थीहरू हामीले उत्पादन गरिरहेका छौँ । यसको मूल कारण पठन सीप विकासलाई उचित महत्त्व नदिनु नै हो । यसले विद्यार्थीहरुको सिकाइ नतिजा मात्र कमजोर नभई समग्र शिक्षा प्रणालीको सफलतामाथि समेत प्रश्नचिन्ह तेस्र्याएको छ ।  वर्तमान समयमा हामीले बटुलेको साराका सारा ज्ञानको उद्गमविन्दु हाम्रै पठन संस्कृति हो । अहिले कम पढेका व्यक्तिहरू नै राज्यको उच्च निकायमा छन् र उनीहरूले नै देश हाँकिरहेका छन् । राम्रोसँग पढेलेखेको योग्य जनशक्ति आफ्नो भविष्य देशभित्र नदेखेर दिन प्रतिदिन विदेशतिर पलायन भइरहेको छ ।  राजनीतिक क्षेत्रमा अध्ययनशील व्यक्तित्वको उपस्थिति अत्यन्त न्यून रहनु भनेको राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय हो । जनप्रतिनिधि भएपछि पनि पढ्नुपर्छ र निरन्तर अध्ययनशील हुनुपर्छ भन्ने संस्कार हामीकहाँ विकसित नै हुन सकेन । जसका कारण नीतिनिर्माण तहमा बस्ने हाम्रा जनप्रतिनिधिहरूमा पढाइप्रतिको उपेक्षाभावले गर्दा सर्वसाधारण नागरिकहरूमा पढाइप्रति अभिरुचि जगाउन सकिएन ।

सूचना–प्रविधि र पठन संस्कृति

प्राचीन समयमा गुरुका मुखबाट सुनेकै भरमा ज्ञान आर्जन गरिन्थ्यो । त्यसैले वेदलाई श्रुति भनिएको होला । कथ्यज्ञान र श्रुतज्ञानलाई लिपिबद्ध गर्दै जाने सन्दर्भमा लेखोट युगको प्रारम्भ भएको होला । आदिकवि भानुभक्त आचार्यका पालामा हातैले लेखेर प्रतिलिपिहरू तयार पार्दै ज्ञानको विस्तार गरिन्थ्यो । २००७ सालमा प्रजातन्त्र आएसँगै नेपालमा सर्वसाधारण जनतामा समेत पठन संस्कृतिको प्रारम्भ भएको हो । त्यसपछि करिब छ दशकसम्म नेपालमा पठन संस्कृतिको द्रुततर विकास भयो । पछिल्लो डेढ दशकदेखि नेपालमा भएको सूचना प्रविधिको द्रुततर विकासले गर्दा पुस्तकलाई नै अध्ययनको मूल आधार बनाउने पाठकहरूको सङ्ख्या निरन्तर घट्दो छ ।

सूचना प्रविधिअन्तर्गत विशेषतः फेसबुक र युट्युबले गर्दा धेरै पाठकहरूको अध्ययनशीलतामा ह्रास आएको छ । आफ्नो ज्ञानलाई अद्यावधिक गर्न सूचना र प्रविधिले सघाउँछ भनेर त्यसको सदुपयोग गर्ने शिक्षक तथा प्राध्यापकहरू पनि कम छन् भने आफ्नो कक्षागत पिरियड सकिनेबित्तिकै पुस्तकलाई भन्दा मोबाइललाई साथी बनाउने गुरुहरूको कमी छैन ।

गुरुहरूकै सिको गरेर मात्र होइन घरमा आफ्नै आमाबुवा पनि मोबाइलमै घोप्टिएको देखेर इन्टरनेटको पहुँच भएका ठाउँमा आजका धेरैजसो विद्यार्थीहरू मोबाइल र ल्यापटपमा घोप्टिरहने रोगले ग्रस्त भएका छन् । इन्टरनेटले सबैलाई चलाख मात्र बनाएको छैन सिर्जनात्मक शक्तिमा पनि धेरैलाई कमजोर बनाएको छ ।

पठन संस्कृतिको विकास गर्ने कसरी ?

पठन संस्कृतिको विकासका लागि विद्यालय र पालिकाको भूमिका अपरिहार्य हुन्छ ।  विद्यालयले निर्देषित कार्यमा लगाएर लर्नरलाई कन्ट्रोल गर्ने होइन्, असल पाठक र ज्ञानको अध्येताको रूपमा विकास गर्ने सोच राख्नुपर्छ । परीक्षामा राम्रो नतिजा दिने हिसाबले मात्र नभई ज्ञानको खोजीमा अभ्यस्त हुने चिन्तनशील लर्नरको उत्पादन र विकास गर्ने लक्ष्य लिनुपर्छ । विद्यार्थीहरूको सिकाइ नतिजा कमजोर हुनु भनेको समग्र शिक्षा प्रणालीको असफलता समेत हो ।  आफूखुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो ।  प्रत्येक शिक्षण संस्थाहरूमा विद्यार्थी केन्द्रित ससाना पुस्तकालय स्थापना गर्ने, तिनको व्यवस्थापन र पाठ्यक्रमभन्दा अतिरिक्त पुस्तकहरू पनि पढ्नुपर्छ भन्ने चिन्तनतर्फ हाम्रा शिक्षण संस्थाहरूको ध्यान आकृष्ट गर्न जरुरी छ । तब मात्रै विषयगत पुस्तकका अलावा अन्य विषयका पुस्तकहरूको पठनमा रूझान राखेको खण्डमा विधार्थीहरूले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि सँगसँगै आर्जन गर्न सक्छन् ।

त्यसको लागि तमानखोलाका प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीलाई प्रत्येक हप्ताको कुनै एकदिन पुस्तकालयको उपयोग गरेर स्वतन्त्र लेखनका लागि प्रोत्साहन गर्न सक्छन् ?  पुस्तकालयप्रति जनचेतना अभिवृद्धि गरी के पढ्ने, किन पढ्ने भनेर बहस छलफल आयोजना गर्न सक्छन् ? विद्यालयले ‘रिडिङ क्लब’को स्थापना गरी ‘नयाँ पुस्तकमा के छ ?’ जस्ता समीक्षात्मक भिडियोहरू फेसबुक युट्युवमा राखेर विद्यार्थीलाई नयाँ पुस्तक पढ्न प्रेरित गर्न सक्छ ? वा कुनै भित्ते पत्रिका वा जर्नल प्रकाशन गरी प्रतिभावान् विद्यार्थीका सिर्जनालाई प्रकाशन प्रसारण गर्ने ल्याकत राख्छन् ? कि पालिकाको सामाजिक विकास शाखाले पुस्तकालय सञ्चालकहरूकै अग्रसरतामा जनप्रतिनिधिलाई जनताले हप्तामा न्यूनतम एकघण्टा भए पनि पुस्तकालयमा रहेर अध्ययन गर्न सकेमा जनसेवा प्रभावकारी हुन्छ भन्ने अभियान चलाउन सक्छ ?

वा पालिकाले हरेक वडामा वाचनालय स्थापना गरी नयाँ पुस्तक पढ्न प्रेरित गर्न सक्छ ?   सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि पठन संस्कृति विकास गर्न के पालिकाले एक विद्यालय एक पुस्ताकालय, एक गाँउ एक वाचनालय र पठन संस्कृति अभियान र कार्यशाला सञ्चालन गर्न सक्छ ? जनचेतना र ज्ञानको विस्तार गर्ने उद्देश्यले निर्मित गाँउपालिका अध्यक्ष पुस्तकालयले पठन संस्कृतिको विकास स्वं सिकाइमा अभ्यस्त गराउन सक्छन् ?

मैले माथि कतै भनेको छु आफूखुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो । मन लगाएर पढ्न ध्यान दिने बच्चाले विद्यालय शिक्षामा राम्रो गर्न सक्छ । बालबलिकाहरू आफैँ पढ्न र सिक्न इच्छुक नभएसम्म न उनीहरू सिकाइको विहंगम संसारमा प्रवेश गर्न सक्दछन् । न नै जीवनको मार्गमा सफलता चुम्न सक्छन् ।

निष्कर्ष

पठन संस्कृतिले प्रत्येक व्यक्तिको सोच्ने शक्तिलाई फराकिलो बनाउँछ । पठन संस्कृतिमा रमाउने व्यक्ति सबैका दृष्टिमा सम्मानित हुन्छ । ज्ञानको प्रसारण, ज्ञानको उत्पादन र ज्ञानको विनिर्माणमा अहोरात्र डट्न सक्ने विद्यार्थीहरूको विकासको आधार भनेकै पठन संस्कृतिको विकास हो । पठन संस्कृतिको विकासको आधार भनेकै पठनसीपको विकास हो । पठनसीपको विकासको आधार भनेकै अध्ययन अध्यापनमा पठनसीपले केन्द्रीय स्थान प्राप्त गर्नु हो ।  सिकाउनेले सिक्नेलाई सिकेका कुरा व्यवहारमा प्रयोग गर्न लगाउन सके मात्र सिकाइ सार्थक हुन्छ । अनि मात्र त्यस्तो सिकाइलाई प्रभावकारी मान्न सकिन्छ । सिकाइमा जति सिकारु जागरुक हुन्छ त्यति नै बढी जान्ने र बुझ्ने हुन्छ । सिकाइलाई प्रभावकारी बनाउन जति–जति नयाँ प्रविधि र विधि प्रयोग गरिन्छ, त्यति नै सिकारुमा सिक्ने इच्छा र चासो बढ्छ । आजको सिकाइ प्रक्रिया विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने नै हो ।  यसैले समग्र शिक्षण सिकाइमा पठन सीपलाई केन्द्रमा राख्ने शिक्षण सिकाइ प्रक्रियाको विकास गरौं । पठन संस्कृतिमा अग्रसर हुन थालेपछि शिक्षकहरूले घोकाउन अनि विद्यार्थीले घोक्न रुचाउँदैनन् । पठन संस्कृतिले व्यक्ति स्वयंको मात्र होइन उसको परिवार, समाज र समग्र देशकै बौद्धिक स्तरको वृद्धिमा महत्त्वपूर्ण सहयोग पुर्याउँछ ।  के तपाईं मेरो कुरामा सहमत हुनुहुन्छ ? यदि सहमत हुनुहुन्छ भने तपाईंले आफ्नो ठाँउबाट पठन संस्कृतिको विकासमा के पहल गर्ने त ?

 

(लेखक तथा पत्रकार अधिकारी हाल बुद्ध आवि तमानखोला १ स्याउलामा कार्यरत छन् ।)
ईमेलः prakashbiheen@gmail.com

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha