
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघले “डायस्पोरा कनेक्शन– प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य योजना २.० सुरु गरेको छ । योजना कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय बजारीकरण समिति गठन गरिएको छ । समितिमा करिब २५ वर्षदेखि क्यानडामा प्राध्यापन गरिरहनुभएका चार्टर्ड मार्केटर डा तुल्सी धरेल संयोजक नियुक्त हुनुभएको छ । समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
समितिले आगामी दुई वर्षसम्म गैरआवासीय नेपाली संघको ८७ देशस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य वित्तिय र गैरनाफामुलक साझेदारहरुसँग सम्झौता गरेर त्रिपक्षीय लाभ लिने उद्देश्य उक्त परियोजनाको रहेको छ । यस परियोजना अन्तर्गत, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा काम गरिनेछ। विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न यो योजना प्रभावकारी हुने संघको विश्वास छ ।
डा. धरेल संयोजक रहेको यस अभियानका सल्लाहकार डा. पुरु श्रेष्ठ हुनुहुन्छ । यस्तै चिरन कुमार खवास, उषा किरण बरिया पोखरेल, सुवास भट्ट, दिपक धिताल, आर सी पन्त, रुबिना शर्मा र बाबा राजेश्वरी थापा सदस्य रहनुभएको छ ।प्रगति र दिगोपनको लागि सामाजिक सहकार्य योजना २।० योजना अन्तर्गत ८७ देशमा अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् लगायत अन्य वित्तिय र गैरनाफामुलक साझेदारहरुसँग सहकार्य र साझेदारी गरी सन् २०२५ सम्म संस्थाको लागि वार्षिक एक अरब रुपैयाँको सामूहिक आर्थिक लाभ उठाउने लक्ष्य राखेका छौँ । संस्थागत प्रगति र दिगोपनको लागि यो एक रणनीतिक पहल पनि हो।
नेपाली डायस्पोरामा लगानी प्रवद्र्धन गर्न दिगो विकासको लक्ष्य पूरा गर्न र संस्थाको वित्तीय दिगोपनको साथै सामाजिक–आर्थिक विकासका लागि यो योजना कोशेढुंगा हुने हाम्रो विश्वास छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् लगायत अन्य वित्तीय र गैरनाफामूलक साझेदारलाई उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि संघले आग्रह गरेको छ ।