शनिबार, मंसिर २३, २०८० | December 9, 2023

कर्मचारी सञ्चय कोष ६२ औँ वर्षमा

कर्मचारी सञ्चय कोष ६२ औँ वर्षमा

  • Naveen Sanchar

  • आइतवार, भदौ ३१, २०८०

  • 280
    Views
कर्मचारी सञ्चय कोष ६२ औँ वर्षमा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोष ६२औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहबीच कोषको ६२ औँ वार्षिकोत्सव मनाइएको छ । समारोहलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री डा. प्रकाशशरण महतले कोषको लगानीको क्षेत्रमा विस्तारको आवश्यतकता औँल्याउनुभयो ।कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रुपमा रुपान्तरण गरी सुरक्षा प्रदायक संस्थाको रुपमा काम गर्न आवश्यक रहेको धारणा समेत उहाँले व्यक्त गर्नुभयो ।समारोहमा कोषका प्रशासक जितेन्द्र धितालले कोषको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रारम्भमा सैनिकहरूको अवकाशपछिको जीवनमा आर्थिक अभाव नपरोस् भनी नेपालमा वि.सं.१९९१ मा स्थापित ‘सैनिक द्रव्यकोष’ र निजामती कर्मचारीहरुको लागि वि.सं. २००१ मा खडा गरिएको ‘निजामती प्रोभिडेण्ड फण्ड’को एकीकृत एवं परिष्कृत रूप नै कर्मचारी सञ्चय कोष हो । राष्ट्रसेवक कर्मचारीको ‘सुरक्षित भविष्यको लागि सञ्चय कोष’ भन्ने मूल नारासहित ‘कर्मचारी सञ्चय कोष ऐन २०१९’ बमोजिम वि.सं.२०१९ भाद्र ३१ मा यसको स्थापना भएको हो । समयक्रमसँगै कोषको कार्यक्षेत्र, उद्देश्य तथा रणनीतिक कार्यदिशामा परिमार्जन हुँदै गएको देखिन्छ । कोष हाल तीनवटै तहका सरकारी सेवाका अतिरिक्त अन्य सङ्गठित संस्थाका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिहरुको निमित्त सञ्चय कोष र योगदानमूलक निवृत्तभरण कोषको व्यवस्था गर्ने आधिकारिक निकायको रुपमा रुपान्तरित भएको छ ।कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रहरुमार्फत सेवा प्रवाह गरिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha