शनिबार, मंसिर १६, २०८० | December 2, 2023

निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण वार्षिकोत्सवमा विविध कार्यक्रम

निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण वार्षिकोत्सवमा विविध कार्यक्रम

  • Naveen Sanchar

  • शनिबार, भदौ ३०, २०८०

  • 794
    Views
निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण वार्षिकोत्सवमा विविध कार्यक्रम

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष आगामी असोज ४ गते स्थापनाको गौरवमय ४९ वर्ष पूरा गरी ५०औं वर्षमा प्रवेश गर्दैछ। स्वर्ण वार्षिकोत्सवको ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन उत्साहजनक ढंगले कोषले विभिन्न कार्यक्रम आयोजना गरेको छ। बैकिङ्ग अनुशासन सचेतनाका लागि शनिबार काठमाडौंमा वाकथन तथा फाइभ के फन रन कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल के.सी. मुख्य अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । विभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा पाँच सय जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीले बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका “लिएपछि बैंकबाट ऋण – तिर्नै पर्छ कुनै न कुनै दिन“, “कर्जाको किस्ताब्याज समयै तिरौं – जिम्मेवार नागरिकको परिचय दिउँ“, “यति कुरा बुझौं है साथी – बैंकको ऋण हुँदैन माफी“ लगायतका वित्तीय सचेतनामूलक बिभिन्न नारा अंकित टि–सर्ट लगाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको वाकथन तथा फाइभ के फन रन कार्यक्रम कमलपोखरी, ज्ञानेश्वर, नक्शाल भगवती, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो । सहभागीहरुलाई हौसला प्रदान गरी कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन राजश्व सचिव डा. घिमिरे, डेपुटी गभर्नर मिश्र तथा कोषका सञ्चालक हुम बहादुर के.सी., तुलसी प्रसाद घिमिरे र प्रकाशजंग थापा समेत अन्य सहभागीहरुसँगै वाकथनमा पूरै अवधि सहभागी हुनु भएको थियो।
फाइभ के फन रन अन्तर्गत नेपाल आर्मी तथा नेपाल प्रहरीका धावकहरु लगायत अन्य व्यवसायिक धावक तथा इच्छुक सर्वसाधारण समेतले दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्नुभएको थियो ।


दौड प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल प्रथम, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ द्वितीय र त्रिभुवन आर्मी क्लबका श्रीकाश राइर्ले तृतीय स्थान हासिल गर्नुभएको थियो । प्रथम हुने पालले १७ः५० मिनेटमा, द्वितीय स्थान हासिल गर्ने श्रेष्ठले १८ः१३ मिनेटमा र तृतीय स्थान हासिल गर्ने राईले १८ः३५ मिनेटमा तोकिएको दूरी पार गर्नुभएको थियो ।
त्यसै गरी महिला तर्फ २१ः५० मिनेटमा दौड पूरा गरी नेपाल पुलिस क्लबका राममाया बुढा प्रथम, २१ः५७ मिनेटमा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने द्वितीय र २३ः०७ मा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला धावकहरु दुवैलाई जनही रु. १५ हजार, दोस्रो हुने पुरुष र महिला धावक दुवैलाई जनही रु. १० हजार र तेस्रो हुने पुरुष तथा महिला धावक दुवैलाई जनही रु. ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष डा. घिमिरे, डेपुटी गभर्नर मिश्र, कोष सञ्चालक समितिका सदस्यहरु के.सी. तथा थापाले संयुक्त रुपमा कोषको नयाँ नारा “ऋण र धन दुवैको सुरक्षण“ सार्वजनिक गर्नु भएको थियो। यसै गरी कोषको सुरक्षण कार्यक्रमको विस्तारको लागि तयार गरिएको प्रचार प्रसार सामग्री अडियो जिंगल तथा कोषको बारेमा तयार गरिएको गीत समेत सार्वजनिक गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha