
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपालको जेठो र अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोष स्थापनको ६२ औँ वर्षमा आइपुग्दा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । सामाजिक सुरक्षाका क्षेत्रमा नवीन सोचका साथ कार्य गरेवापत कोषले ती सम्मान हासिल गरेको हो ।कोषले विकास वित्तीय संस्थाको एसिया प्यासिफिक संगठन (एडीएफआईएपी) बाट प्रविधि विकास पुरस्कार, २०२३ प्राप्त गरेको छ । त्यस्तै भारतस्थित एचआर एसोसिएसन अफ इन्डियाबाट डिस्टिङ्सन अवार्ड, २०२३ प्राप्त गर्न सफल भएको छ । यसअघि एडीएफआईएपी चाइनाले कोषको योगदानको मूल्याङ्कन गर्दै कर्पोरेट गभर्नेन्स अवार्ड, २०१७ प्रदान गरेको थियो । त्यसैगरी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले कोषद्वारा प्रस्तुत प्रतिवेदनको कदर गर्दै बेस्ट प्रजेन्टेड रिपोर्ट(बीपीए), २०१४ बाट पुरस्कृत गरेको थियो । अन्तर्राष्ट्रियस्तरको सामाजिक सुरक्षा संस्था बन्ने कोषको दीर्घकालीन लक्ष्य हासिल गर्न यी सम्मान कोशेढुङ्गा सावित भएको कोषले जनाएको छ ।
कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापित कोषले नेपाल सरकारको तर्फबाट सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि सञ्चय कोष व्यवस्थापन गर्दछ । निवृत्तिभरण कोष ऐन, २०७५ अनुसार कोषले आर्थिक वर्ष २०७६/७७ देखि नियुक्त हुने नेपाल सरकारका कर्मचारी र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरण योजना व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । कोषले सञ्चयकर्तालाई सञ्चयकर्ता स्वास्थ्योपचार योजना, दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजक्रिया अनुदान लगायतका सामाजिक सुरक्षा सुविधा समेत प्रदान गर्दै आएको छ ।