शनिबार, बैशाख १, २०८१ | April 13, 2024

 देवीचौरमा स्तनपान सप्ताह मनाइयो

 देवीचौरमा स्तनपान सप्ताह मनाइयो

  • Naveen Sanchar

  • आइतवार, साउन २१, २०८०

  • 45
    Views
 देवीचौरमा स्तनपान सप्ताह मनाइयो

ललितपुर विश्व स्तनपान सप्ताहको अवसरमा साउन २० गते ग्रामीणा सामुदायिक संस्था विकास  (रिकोड)को आयोजना तथा गोदावरी नगरपालिका, वडा कार्यालय र नागरिक आवाजसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवर्धन गर्ने विश्वास गरिएको छ ।

सन् २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तपान र काममा केन्द्रित छ । यस वर्षको नाराले कार्यस्थलमा स्तपानलाई वढावा दिन प्रेरित गरेको छ ।‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यसको मुख्य थिम रहेको छ रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको जानकारी दिइन् ।स्तनपानलाई र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा प्रावधान रहेका उनले बताइन् । प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको तिमल्सिनाको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, ५० करोडभन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानुनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन । केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गरेको विभिन्न अध्ययन हरुले देखाएको छ ।आफ्ना शिशुलाई नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन हरेक आमालाई प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।स्तनपानको महत्व प्रवद्र्धन गर्न मनाइने यो वार्षिक अभियान हो ।आमा र बच्चाबीचको निकटता बढाउने अवसरको रुपमा यो दिवसलाई लिने गरिएको छ ।

देवीचौरको स्वास्थ्य चौकीमा आयोजित अन्तरक्रियामा वडाध्यक्ष मथुराप्रसाद शर्माले स्तनपानका बारेमा बेलैदेखि जानकारी लिनुदिनु आवश्यक रहेको बताए ।स्वास्थ्य चौकीका प्रमुख हस्तबहादुर कठायतले बालबालिकाको स्वास्थ्य राम्रो हुनका लागि स्तनपानको महत्व निकै रहेको बताए नागरिक आवाजको तर्फबाट श्रेया तामाङले स्वास्थ समाज निर्माणका लागि स्तनपानको महत्व रहेको हुँदा अन्य कार्यक्रमहरूमा पनि स्तनपान, किशोरकिशोरीको स्वास्थ्य सरोकारका विषयमा अन्तरक्रिया गर्नु पर्ने बताइन् । कार्यक्रमका सहभागीलाई स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी सुशीला तिमल्सिनाले अभिमुखीकरण गरेकी थिइन् ।

झण्डै १ सय जनाको सहभागितामा सञ्चालित कार्यक्रम पश्चात विभिन्न प्लेकार्डमा स्तनपान र स्तनपानको महत्वका बारेमा लेखिएका सन्देशसहित निकालिएको र्‍याली स्वास्थ्यचौकीबाट चेकपोष्ट हुँदै वडा कार्यालयसम्म पुगेको थियो । रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ । सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha