नवीनसञ्चार सम्वाददाता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागलाई जापान सरकारले ४ वटा कक्षाकोठाको पुर्ननिमार्ण एवं स्तरीयकरण गर्नुका साथै स्मार्टवोड र फर्निचर जडान गरी अन्य शैक्षिक उपकरणहरु समेत हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदुत Maeda Toru ( मेइदा तोरु) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको उपस्थितिमा विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्र कुमार बुढाथोकीलाई उक्त शैक्षिक उपकरण हस्तान्तरण गर्नुभएको हो ।
शैक्षिक उपकरणहरु हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले नेपाल र जापानविचको मैत्रीपूर्ण सम्वन्धलाई स्मरण गर्दै त्रिभुवन विश्वविद्यालय लगायत उच्चशिक्षामा जापानसरकारले विगत लामो समयदेखि उल्लेखनिय सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।नेपालमा अन्तराष्ट्रीय भाषाको आवश्यकता महशुस भएर खोलिएको विश्वभाषा क्याम्पसको छुट्टै पहिचान र गरीमा रहेको उल्लेख गर्दै भाषालाई ज्ञान र विवेकको महत्वपूर्ण माध्यामको भएको, भाषाकै माध्यामवाट सामाजिक एवं सांस्कृतिक मान्यतालाई जोडिने हुँदा विश्वभाषा क्याम्पसलाई स्तरीयकरण गर्दै शैक्षिक उपाधी प्रदान गर्ने कार्यक्रम समेतको माग भएकोले उक्त विषयमा आवश्यक निर्णय हुने बताउनुभयो ।
नेपालका लागि जापानका राजदुत Maeda Toru ( मेइदा तोरु) ले विश्वभाषा क्याम्पसमा नवनिर्मित कक्षाकोठा र शैक्षिक उपकरणले जापानीज भाषा सिक्ने विद्यार्थीहरुको सिकाईमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो । जापानमा हाल ३ लाख ५० हजार विद्यार्थीहरु अध्ययनरत रहेको, नेपालीमा जापानी भाषा,संस्कृति प्रतिको चाहाना बढेको र जापानिज भाषाकै कारण नेपालीहरुले विभिन्न अवसरहरु समेत प्राप्त गर्दै आइरहेको बताउनुभएको थियो । जापान सरकार नेपालीहरुको सुखदुखमा साथ रहेको भन्दै शिक्षण अस्पताल लगायत उच्चशिक्षामा सहयोग गर्नपाउँदा हर्षित भएको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा दुविनन्द ढकाल, त्रिवि अन्तर्राष्ट्रीय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा विष्णुप्रसाद पाण्डे लगायत क्याम्पसका कार्यरत प्राध्यापक एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।