कृष्ण धरावासीको आह्वान : ‘जहाँ रह्यो, त्यहीँको माटो, संस्कृति र परिवेश समेटेर साहित्य लेख्नुपर्छ’; चार देशका साहित्यकारबीच सिर्जना र संवाद
सहयात्री ढकाल, अमेरिका
विश्व भूटानी साहित्यिक सङ्गठन (जीबीएलओ) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। संस्थाको नियमित साहित्यिक शृङ्खला ‘सृजना, स्रष्टा र संवाद’ अन्तर्गत जुम माध्यमबाट आयोजित कार्यक्रममा अमेरिका, नेपाल, बेलायत र डेनमार्कका साहित्यकार तथा स्रष्टाहरू सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले प्रवासमा साहित्य सिर्जना गर्ने नयाँ पुस्ताले आफू बसोबास गरिरहेको देशको माटो, संस्कृति, समाज र परिवेशलाई साहित्यमा समेट्नुपर्ने धारणा राख्नुभयो।
“जहाँ रह्यो, त्यहीँको माटो, संस्कृति र परिवेश समेटेर साहित्य लेख्नुपर्छ,” धरावासीले भन्नुभयो। उहाँले प्रवासी साहित्यलाई जन्मभूमिको सम्झना र विस्थापनको पीडामा मात्र सीमित नराखी आफूले बाँचेको वर्तमान समाज र जीवनका अनुभवलाई पनि सिर्जनामा उतार्नुपर्ने सन्देश दिनुभयो।
चार देशका स्रष्टा एउटै साहित्यिक मञ्चमा

कार्यक्रममा अमेरिका, नेपाल, बेलायत र डेनमार्कबाट सहभागी स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचना वाचन गरेका थिए।
अमेरिकाबाट जीबीएलओका कोषाध्यक्ष शेखर कोइराला ‘काकु’, वसुधा रिजाल, पत्रकार अर्जुन प्रधान, इन्दिरा प्याकुरेल, कुबेर शर्मा ‘भुवन्तरे’, अवि न्यौपाने ‘अभिषेक’ र भरत तिम्सिनाले सिर्जना प्रस्तुत गर्नुभएको थियो।
नेपालबाट बेलडाँगीका ‘मेरो कविता’ सिजन–१ का फाइनलिस्ट अविलाल राई तथा झापाकी शिक्षिका खगिन्द्रा खुसी र गजलकार रश्मि असफल सहभागी हुनुभएको थियो।
त्यसैगरी डेनमार्कबाट साहित्यकार सुदर्शन पोखरेल र बेलायतबाट विश्वासदीप तिगेला सहभागी हुनुभएको थियो। उहाँहरूले साहित्य, समाज र सिर्जनाका विविध पक्षमा विचार तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो।
देवकोटाको योगदानमाथि चर्चा
जीबीएलओका अध्यक्ष ‘पातलो अन्तरे’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक ईश्वर ढकालले गर्नुभएको थियो। संस्थाका सचिव दियालो सुसन माझीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सांस्कृतिक निर्देशक सरगम भारद्वाजले महाकवि देवकोटाको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम् साम्पाङले पनि साहित्य, दर्शन र समाजका विषयमा आफ्ना विचार राख्नुभएको थियो।
प्रवासमा नेपाली साहित्यको पहिचान
जीबीएलओको साहित्यिक अभियान भुटानी नेपाली समुदायको भाषा, साहित्य र सांस्कृतिक पहिचान संरक्षणसँग जोडिएको छ। शरणार्थी जीवन र पुनर्वासपछि विश्वका विभिन्न देशमा फैलिएको समुदायलाई साहित्यका माध्यमबाट जोड्ने प्रयास यस अभियानको महत्त्वपूर्ण पक्ष हो।
प्रवासमा नयाँ पुस्ताले नेपाली भाषा र साहित्यसँगको सम्बन्ध कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा यस्ता अन्तरदेशीय साहित्यिक कार्यक्रमले स्रष्टाबीच सहकार्य र सिर्जनात्मक आदानप्रदानको अवसर प्रदान गर्छन्।
देवकोटाको जन्मजयन्तीका अवसरमा आयोजित यस कार्यक्रमले जन्मभूमिको स्मृति र इतिहाससँगै आफू बसोबास गरिरहेको देशको समाज, संस्कृति र वर्तमान जीवनलाई पनि साहित्यमा अभिव्यक्त गर्नुपर्ने सन्देश दिएको छ। चार देशका स्रष्टाको सहभागिताले नेपाली भाषा र साहित्यले भौगोलिक सीमाभन्दा पर पनि साझा मञ्च निर्माण गर्न सक्ने सम्भावनालाई उजागर गरेको छ।