शुक्रबार, कार्तिक २१, २०८३ | November 6, 2026

क्रूरताको पराकाष्ठा: ममता काफ्ले भट्ट प्रकरण र ‘रहस्यमयी’ मृत्युको अदालतभित्रको पटाक्षेप

क्रूरताको पराकाष्ठा: ममता काफ्ले भट्ट प्रकरण र ‘रहस्यमयी’ मृत्युको अदालतभित्रको पटाक्षेप

  • Naveen Sanchar

  • शुक्रबार, कार्तिक २१, २०८३

  • 27
    Views
क्रूरताको पराकाष्ठा: ममता काफ्ले भट्ट प्रकरण र ‘रहस्यमयी’ मृत्युको अदालतभित्रको पटाक्षेप

नवीनसञ्चार सम्वाददाता , अमेरिका
दुई वर्षअघि भर्जिनियाको मानासस पार्कबाट एकजना नेपाली नर्स रहस्यमयी ढंगले बेपत्ता हुँदा कसैले सोचेको थिएन—यो घटनाले अमेरिकी नेपाली समुदायलाई मात्र होइन, कानुनी इतिहासलाई नै स्तब्ध पार्ने एउटा कहालीलाग्दो मोड लिनेछ। यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि उनको शव फेला परेको छैन। तर, नोभेम्बर ५, २०२६ मा प्रिन्स विलियम काउन्टीको अदालतमा जे भयो, त्यसले अदालतभित्र रहेका सबैको आङ सिरिङ्ग बनायो।
कठघरामा उभिएका ममताका पति नरेश भट्टले दुई वर्षदेखि गुपचुप राखेको एउटा यस्तो सत्य ओकले, जसले मानवीय क्रूरताको सबै सीमा नाघेको पुष्टि गर्छ। उनले अदालतसामु स्वीकार गरे—”हो, मैले मेरी पत्नीको शवलाई आराले टुक्र्याएर फोहोरको डस्टबिनमा फालेको हुँ।”
तर, यो स्वीकारोक्तिसँगै उनले एउटा अर्को नाटकीय दाबी पनि जोडका साथ उठाए—”मैले हत्या गरेको होइन।”

त्यो साउन १५ को बिहान र डरको प्रपञ्च
नरेश भट्टको बयानअनुसार कथा सन् २०२४ जुलाई ३० (२०८१ साउन १५ गते) को बिहानबाट सुरु हुन्छ। उनले शयनकक्षमा ममतालाई अचेत अवस्थामा भेटाएको दाबी गरे। मुखमा बान्ता, भुइँमा रगत र औषधिधका क्याप्सुलहरू छरिएका थिए। नजिकै विषादीको प्याकेट थियो। नरेशका अनुसार ममताले आत्महत्या गरेकी थिइन्।
उनले करिब एक घण्टासम्म ममतालाई बचाउन सीपीआर (CPR) दिएको, पानी खुवाउने प्रयास गरेको तर कुनै प्रतिक्रिया नआएपछि उनी अत्तालिएको बताए। तर, एउटा शिक्षित र अमेरिकाको प्रणाली बुझेको व्यक्तिले आपत्कालीन नम्बर ९११ मा फोन गर्नुको साटो ‘शव लुकाउने’ योजना बुन्न थाल्यो। यहीँबाट नरेशको दाबीमाथि कानुनी र नैतिक प्रश्नको ठूलो पहाड खडा हुन्छ।

आरा, चक्कु र फोहोरको झोला: एउटा बीभत्स योजना
अदालतमा प्रस्तुत विवरणहरूले नरेशको भयानक सोचलाई उजागर गर्छन्। सुरुमा उनले शवलाई पोटोम्याक नदीमा सेलाउने सोचे। त्यसका लागि आवश्यक सामान किन्न उनी होम डिपो र वालमार्ट पनि धाए। तर पछि, शवलाई फोहोरको डस्टबिनमा सहजै अटाउन नसकिने देखेपछि उनले कसाईले जस्तो क्रूर बाटो रोजे।
जुलाई ३१ मा उनले घरभित्रै विद्युतीय आरा र चक्कुको प्रयोग गरेर आफ्नै पत्नीको शरीरलाई टुक्रा-टुक्रा पारे। ती टुक्राहरूलाई फोहोरका झोलाहरूमा प्याक गरे र घरबाहिरको डस्टबिनमा फालिदिए। भर्जिनियाको फोहोर संकलन गर्ने गाडीले ती झोलाहरू कहाँ पुर्‍याए, अहिलेसम्म अज्ञात छ। अदालतमा जब अभियोजन पक्षले त्यो हत्यारा आरा प्रदर्शन गर्‍यो, नरेशले टाउको हल्लाउँदै स्वीकार गरे—”हो, मैले यही प्रयोग गरेको हुँ।”

अभियोजन पक्षको बलियो घेराबन्दी: शवविहीन हत्याको मुद्दा
नरेशले ममताको मृत्युलाई ‘आत्महत्या’ को रङ दिन खोजे पनि अभियोजन पक्ष यो तर्कलाई पूर्ण रूपमा खारेज गर्छ। अमेरिकी कानुनी इतिहासमा शव फेला नपरीकन पनि हत्या पुष्टि भएका अनेकौं उदाहरण छन्। यस मुद्दामा पनि अभियोजन पक्षले परिस्थितिजन्य र फरेन्सिक प्रमाणको बलियो घेरा तयार पारेको छ:
• रगतका टाटा: घरको शयनकक्ष र बाथरुममा ममताको रगतको फरेन्सिक अवशेष फेला परेको छ।
• विद्युतीय आरामा प्रमाण: बरामद गरिएको आरामा ममताको कपाल र रगतका अंशहरू भेटिएका छन्।
• डिजिटल फुटप्रिन्ट: नरेशको मोबाइल र कम्प्युटरको सर्च हिस्ट्रीमा शव कसरी नष्ट गर्ने र सामानहरू कहाँ किन्ने भन्ने डिजिटल प्रमाणहरू सुरक्षित छन्।
नरेशमाथि अहिले तीनवटा गम्भीर मुद्दा दर्ता छन्: प्रथम श्रेणीको हत्या (First-degree murder), शव लुकाएको र मृत शरीरको अपमान गरेको आरोप।

न्यायको पर्खाइमा नेपाली समुदाय

यो घटनाले अमेरिका र नेपाल दुवैतर्फका नेपालीहरूलाई लामो समयदेखि भावुक र आक्रोशित बनाएको छ। एउटी आमा, एउटी नर्स र एउटी छोरीको यसरी बीभत्स अन्त्य हुनु र दुई वर्षसम्म सत्य ओझेलमा पर्नुले समुदायमा गहिरो घाउ बनाएको छ।

कानुनी रूपमा, शव टुक्र्याएको स्वीकार गर्नु र हत्याको दोष प्रमाणित हुनु दुई अलग कुरा हुन्। प्रतिरक्षा पक्षले अझै पनि यसलाई ‘डरले गर्दा गरिएको गल्ती’ र ‘मूल कारण आत्महत्या’ नै भएको जिकिर गरिरहेको छ।
नरेश भट्ट दोषी हुन् या निर्दोष, त्यो अदालतको अन्तिम फैसलाले तय गर्नेछ। तर, यो सुनुवाइले एउटा कुरा भने स्पष्ट पारिसकेको छ—ममता काफ्ले भट्टले मृत्युपछि पनि जुन अपमान र क्रूरता भोग्नुपर्‍यो, त्यसले समाजको आधुनिक र सभ्य मुकुण्डोलाई नराम्ररी उप्काइदिएको छ। अब सम्पूर्ण समुदायको आँखा भर्जिनियाको अदालतको त्यो अन्तिम फैसलामा टिकेको छ, जसले ममताको आत्मालाई न्याय दिनेछ।

 

 

 

…


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha