बुधबार, कार्तिक १९, २०८३ | November 4, 2026

बेलडाँगी शरणार्थी शिविरमै निर्मित लघु चलचित्र ‘देश दुखेको बेला’ प्रदर्शन हुँदै

बेलडाँगी शरणार्थी शिविरमै निर्मित लघु चलचित्र ‘देश दुखेको बेला’ प्रदर्शन हुँदै

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक १८, २०८३

  • 13
    Views
बेलडाँगी शरणार्थी शिविरमै निर्मित लघु चलचित्र ‘देश दुखेको बेला’ प्रदर्शन हुँदै

अक्टोबर ४ देखि ७ सम्म बेलडाँगीमा प्रदर्शन हुने चलचित्रले शरणार्थी समुदायका भोगाइ, संवेदना र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्ने अपेक्षा

सहयात्री ढकाल, कोलम्बस ओहायो।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरभित्रै निर्माण गरिएको लघु चलचित्र ‘देश दुखेको बेला’ प्रदर्शन हुने भएको छ। शरणार्थी समुदायका कथा, अनुभव र संवेदनालाई चलचित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्र अक्टोबर ४ देखि ७, २०२६ सम्म बेलडाँगीस्थित नाट्य हलमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

भुटानी शरणार्थी आर्ट एन्ड भिजुअल प्रोडक्सन्सको प्रस्तुति तथा एसएमसी बेलडाँगीसँगको सहकार्यमा तयार भएको चलचित्रको निर्माण सेक्मुरी क्लबले गरेको हो। चलचित्रको कथा, पटकथा तथा निर्देशन विरेन मगरले गरेका छन्।

चलचित्रमा जङ्गा मगर, भीममाया सुब्बा, जसबहादुर गुरुङ, गणेश घिमाल, धनमाया मगर, सञ्जित राई, बिमला सुब्बा, शर्मिला हाङ राई, धनमान राई र बिरेन बिस्वाललगायत कलाकारहरूको अभिनय रहेको छ।

आयोजकले सम्पूर्ण भुटानी शरणार्थी समुदायलाई चलचित्र हेर्न उपस्थित भई स्थानीय सिर्जना र कलाकारलाई हौसला प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। प्रदर्शन प्रत्येक दिन साँझ ५:३० बजे हुने निमन्त्रणामा उल्लेख छ।

शरणार्थी शिविरभित्रै स्थानीय कलाकार तथा सर्जकहरूको सक्रियतामा चलचित्र निर्माण हुनु समुदायको सिर्जनात्मक क्षमता र सांस्कृतिक पहिचानको संरक्षणका दृष्टिले महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

विस्थापन, आफ्नो भूगोलबाट टाढिनुपर्दाको पीडा, पहिचान र सामाजिक अनुभूतिजस्ता विषयलाई कलामार्फत अभिव्यक्त गर्ने प्रयासले भुटानी शरणार्थी समुदायको मौलिक कथा नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

स्थानीय स्रोत, साधन र प्रतिभाको उपयोग गर्दै निर्माण गरिएको ‘देश दुखेको बेला’ ले दर्शकको साथ र समर्थन पाउने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha