नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, कात्तिक १२गते।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गर्नुभएको छ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
भेटमा नेपाल र फ्रान्सबीच आपसी हित तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।
भेटवार्ताले नेपाल–फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहयोग र सहकार्यका नयाँ अवसर विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।