अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने
लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।
लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर २०२६, आइतबार आयोजना हुने कार्यक्रममा सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र मौलिक परम्परालाई समेत प्राथमिकता दिइनेछ।
अपाङ्गता भएका व्यक्तिहरूको हकहित र समान अवसरका विषयलाई समाजमा स्थापित गर्न जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यस्ता गतिविधिले सामाजिक उत्तरदायित्वबोध बढाउनुका साथै समुदायमा सहयोग, सद्भाव र मानवीय संवेदनाको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रथम गुल्मी नौमती बाजा समूहले विशेष सांगीतिक प्रस्तुति दिनेछ। नेपाली मौलिक संस्कृतिको पहिचानका रूपमा रहेको नौमती बाजाको प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक रौनक थप्ने विश्वास गरिएको छ।
दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा वयस्कका लागि ३० पाउन्ड र ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ। पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकले भने निःशुल्क प्रवेश पाउनेछन्। सहभागीका लागि खानाको व्यवस्था पनि प्रवेश शुल्कमै समावेश गरिएको छ।
समाजका प्रवक्ता सुरेश केसीले कार्यक्रमको समन्वय गरिरहेका छन्। समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमलाई सफल बनाउन बेलायतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा सामाजिक सेवामा रुचि राख्ने सबैलाई सहभागिताका लागि निमन्त्रणा गरेकी छन्।
सामाजिक सेवाको भावनालाई सामुदायिक एकता र नेपाली सांस्कृतिक पहिचानसँग जोड्ने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान र सहयोगको वातावरण निर्माण गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।