नवीनसञ्चार सम्वाददाता
लस एन्जलस, अमेरिका । नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसन, लस एन्जलसको पहलमा डेढ करोड नेपाली रुपैयाँ संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार फाउन्डेसन मार्फत अमेरिकामा रहनु भएका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर (एक करोड ५१ लाख नेपाली रुपैयाँ) बाढीपीडितका लागि संकलन गरिएको थियो। उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८ सय ७५ रुपैयाँ अमेरिकी डलर (१ करोड ४८ लाख रुपैयाँ )फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
फाउन्डेसनले नेपाली राजदूतावास वासिङ्टन डीसीसँग जुममार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले उक्त रकम नेपालका प्रधानमन्त्री राहत कोषमा पठाइएको घोषणा गर्नुभएको थियो ।
सो मानवीय अभियानमा दक्षिणी क्यालिफोर्नियामा क्रियाशील विभिन्न संघसंस्था, नेपाली समुदाय तथा अन्य समुदायका उदारमनाहरूको उल्लेखनीय योगदान रहेको फाउन्डेसनले जनाएको छ ।
प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीहरूको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले यसअघि पनि नेपालमा गएको भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको थियो। भोटेकोसी बाढी पीडितका लागि सहयोग संकलन अभियानमा सहयोग पुर्याउने संघसंस्था, नेपाली तथा अन्य समुदायका प्रतिनिधि र सहयोगी मनप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ।
संयुक्त राज्य अमेरिका र विश्वभर नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्धको भूमि नेपालको पहिचान प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित श्री पशुपतिनाथ फाउन्डेसनले क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माण अघि बढाएको छ।