सहयात्री ढकाल
फेयरफिल्ड, ओहायो।
अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा गोली प्रहारबाट ज्यान गुमाएका नेपालीभाषी व्यवसायी तारामान सिन्चुरीको सम्झनामा शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
परिवारले सार्वजनिक गरेको सूचनाअनुसार आगामी अक्टोबर २३, शुक्रबार साँझ ६:३० बजे ६६७९ डिक्सी हाइवे, फेयरफिल्ड, ओहायो ४५०१४ मा कार्यक्रम आयोजना हुनेछ।
दिवंगत सिन्चुरीप्रति श्रद्धाञ्जली अर्पण गर्न, उहाँसँग बिताएका क्षणहरूको स्मरण गर्न तथा शोकसन्तप्त परिवारलाई सान्त्वना र साथ दिन परिवारजन, आफन्त, साथीभाइ तथा समुदायका सदस्यलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
परिवारले यस कठिन घडीमा समुदायको उपस्थिति, प्रार्थना र साथले आफूहरूलाई ठूलो सान्त्वना मिल्ने जनाएको छ।
५२ वर्षीय सिन्चुरीको अक्टोबर २० मा डिक्सी हाइवेस्थित आफ्नै व्यवसायमा गोली प्रहारबाट मृत्यु भएको थियो। उनी एभरेस्ट ज्वेल्सका सञ्चालक तथा तीन सन्तानका पिता थिए। घटनाबारे प्रहरीले लुटपाट र हत्याको रूपमा अनुसन्धान गरिरहेको छ।
दसैँको उल्लासबीच भएको उनको असामयिक निधनले परिवार, आफन्त तथा नेपालीभाषी भुटानी समुदायलाई स्तब्ध बनाएको छ।
दीप प्रज्वलन कार्यक्रमले दिवंगत सिन्चुरीप्रति सम्मान व्यक्त गर्नुका साथै दुःखको यस घडीमा समुदायलाई एकजुट बनाउने अपेक्षा गरिएको छ।
दिवंगत तारामान सिन्चुरीप्रति हार्दिक श्रद्धाञ्जली!