दम्माम, साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य तथा नेपाली राजदूतावास, रियादको आयोजनामा साउदी अरबको पूर्वीय प्रान्त दम्माममा दुईदिने राहदानी अस्थायी शिविर, श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
जुन १२ र १३ मा सञ्चालन गरिएको उक्त शिविरमार्फत ३१० जनाको विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी अनलाइन फाराम संकलन गरिएको थियो। त्यस्तै, ३४२ जनालाई नवीकरण गरिएका राहदानी वितरण गरिएको, ६ जनालाई ट्राभल डकुमेन्ट उपलब्ध गराइएको, २ वटा कन्सुलर एटेस्टेशन तथा ७५ जनाको एक्जिट भिसा सम्बन्धी सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरबाट कुल ७३५ जना सेवाग्राही लाभान्वित भएका छन्।
शिविरमा नेपाली राजदूतावास, रियादका द्वितीय सचिव अम्बरबहादुर नेपालीको नेतृत्वमा प्रथम सचिव टिकाराम शर्मा, तृतीय सचिव कमल कुँवर लगायत राजदूतावासका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
शिविर सञ्चालनका लागि आवश्यक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा विभिन्न सामाजिक तथा राजनीतिक संघ–संस्थासँग समन्वय गर्ने कार्य एनआरएनए साउदी अरबले गरेको थियो। संघका अध्यक्ष उमेश भट्टराईको नेतृत्वमा महासचिव शुक्र मोक्तान, युवा संयोजक पदम महत लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरूले सेवा प्रदान गरेका थिए।
कार्यक्रमका क्रममा अध्यक्ष भट्टराईले उपस्थित श्रमिकहरूसँग समसामयिक विषयमा अन्तरक्रिया गरेका थिए। शिविरलाई सफल बनाउन ग्लोबल आइएमई बैंकले निःशुल्क फोटोकपी सेवा तथा बैंक खाता खोल्ने व्यवस्था मिलाएको थियो भने फ्रेन्डी–पेले निःशुल्क सिम कार्ड वितरण गरेको थियो। साथै स्वयंसेवकहरूले निःशुल्क खानेपानी वितरण गरी सहयोग पुर्याएका थिए।
एनआरएनए साउदी अरबले शिविर सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, स्वयंसेवक, दाता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि नेपाली श्रमिकको हित र सेवाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिन नेपाली राजदूतावास, रियादसँग अनुरोध गरेको छ।
