सोमवार, चैत्र २, २०८२ | March 16, 2026

एनआरएन विश्व सम्मेलनको घोषणापत्र

एनआरएन विश्व सम्मेलनको घोषणापत्र

  • Naveen Sanchar

  • सोमवार, चैत्र २, २०८२

  • 124
    Views
एनआरएन विश्व सम्मेलनको घोषणापत्र
गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन
फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६)
काठमाडौं
घोषणापत्र (Declaration)
 
“Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मूल नाराका साथ २०८२ साल फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौंमा आयोजित १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
३० नोभेम्बर २०२५ मा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा भएको १० बुँदे सहमतिले संघभित्रको एकता, समझदारी र संस्थागत स्थायित्वको नयाँ आधार तयार गरेको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै आज हामी एकताबद्ध रूपमा यस १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौँ। यस प्रक्रियामा मार्गदर्शन र संरक्षकत्व प्रदान गर्नु भएकोमा यो सम्मेलन सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ l
परराष्ट्रमन्त्री माननीय बालानन्द शर्माज्यूले उद्घाटन गर्नुभएको सम्मेलन सम्माननीय प्रधानमन्त्री सुशीला कर्कीज्यूको उपस्थितिमा समापन भयो ।
सम्मेलनमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा ज्यू, कृषि तथा पशुपालनमन्त्री मदन परियार ज्यू, , वन तथा वातावरण मन्त्री माधव चौलागाईंज्यू, र पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू, पुर्व मन्त्रिज्यूहरु, माननीय सांसदज्यूहरु,पुर्व सांसदहरु, नेपाल सरकारका उच्चस्तरीय पदाधिकारीज्यूहरू, एनआरएनएका संस्थापक अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरूलगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरू, एनआरएनएका प्रतिनिधिहरू, संस्कृतिविद्, लगानीकर्ता, श्रमिक प्रतिनिधि, युवा पुस्ता, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
सम्मेलनका ४ हजार २ सय ८६ प्रतिनिधिमध्ये काठमाडौंमा ४०० भन्दा बढी  प्रतिनिधि प्रत्यक्ष रूपमा उपस्थित भएका थिए भने बाँकी प्रतिनिधिहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए। यस सम्मेलनमार्फत विश्वभर छरिएर बसेका नेपाली समुदायले एकताको भावनासहित नेपालको समृद्धि, विकास तथा विश्वव्यापी नेपाली समुदायको हितका लागि यो सम्मेलन निम्न प्रतिबद्धताहरू व्यक्त गर्दछ :
  1. गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी सुधार गर्न संघ आग्रह गर्दछ। नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकास र नेपालीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरूको लगानी प्रोत्साहित गर्न यो सम्मेलन प्रतिबद्ध छ।
  1. गैरआवासीय नेपालीहरूको सहभागिता वृद्धि गर्नका लागि चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, लगानी तथा लगानी राफसाफका लागि बैंक खाता खोल्न तथा लगानी फिर्ता लैजान गैरआवासीय नेपालीहरूको लगानी व्यवस्थापन गर्न छुट्टै निकाय खडा गर्ने र यी सबै कार्य सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, मालपोत ऐन तथा नियमावलीहरू संशोधन गर्न नेपाल सरकारसँग सम्मेलन हार्दिक अनुरोध गर्दछ। साथै नेपाल सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा  स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ८५% अविलम्ब कायम गर्न माग गर्दछ।
  1. मध्यपूर्वको पछिल्लो अवस्थाप्रति हामी अत्यन्त चिन्तित र  गम्भीर छौँ। मध्यपूर्वका विभिन्न भागमा रहेका नेपालीहरू संकटमा परेको अवस्थामा राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन एनआरएनएले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्यलाई सुदृढ बनाउने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ।
  1. नेपालको संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकता कार्यन्वयन सम्बन्धी कानुनी र नीतिगत सुधारका लागि ऐन यथाशिध्र संशोधनका लागि सम्बन्धित निकायसँग यो सम्मेलन माग गर्दछ ।
५.    विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार र सहयोगको पहल गर्न यो सम्मेलन प्रतिवद्द छ l
६.    प्रवासमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका युवाहरूलाई नेपाली भाषी, नेपाल मुलका विदेशी नागरिक(पीएनओ ) लाई, संस्कृति, इतिहास र पहिचानसँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिनेछ l
७.         विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा सहकार्य गर्दै ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याईनेछ ।
८.    जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगहरूमा गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्नेछौँ ।
९.    प्रवासमा रहेका नेपाली समुदायमार्फत नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाललाई विश्वसामु चिनाउने अभियानलाई अझ सशक्त बनाउन प्रतिवद्द छ l
१०.   विश्वभर रहेका नेपालीहरूको एकता, ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्दै “हाम्रो एकता, समृद्धिको आधार” नारालाई व्यवहारमा उतार्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपालको निर्माणमा योगदान गर्ने सामूहिक संकल्प व्यक्त गर्दछ l
११.   एनआरएनएको १२ औं विश्वसम्मेलन तथा एकताको महाधिवेशनबाट नव निर्वाचित नेतृत्वले अब बन्ने नयाँ सरकारसँग निरन्तर सहयोगको अपेक्षा गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।
१२.   गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउँदै एकता, सहकार्य र पारस्परिक सम्मानको संस्कृतिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।
अन्त्यमा गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन तथा महाधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने नेपाल सरकारका साथै अन्य  सरोकारवाला सबै निकायहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
काठमाडौं, नेपाल
-गैरआवासीय नेपाली संघ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha