शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

गैरआवासीय नेपाली विश्व सम्मेलन हुँदै

गैरआवासीय नेपाली विश्व सम्मेलन हुँदै

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २९, २०८२

  • 5
    Views
गैरआवासीय नेपाली विश्व सम्मेलन हुँदै
प्रेस–विज्ञप्ति
गैरआवासीय नेपाली विश्व सम्मेलन
एवं
१२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरू भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने उद्देश्यका साथ विगत २३ वर्षदेखि अघि बढिरहेको छ । यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारको रूपमा उभ्याउन सक्षम भएको छ ।
स्थापनाको २३ वर्षको अवधिमा ९२ देशमा औपचारिक सञ्जाल विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा पङ्क्तिबद्ध गर्न संघ सफल भएको छ । विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौँ ।
संघको १० औँ र ११ औँ महाधिवेशनपछिको कालखण्डमा संस्थाभित्र देखिएका अप्ठ्याराहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै सन् २०२५ नोभेम्बर ३० मा (मंसिर १४, २०८२) सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको रोहबरमा, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा, गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य सर्वविदितै छ । यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ र मजबुत बनाएको छ ।
यसै सन्दर्भमा, यही २०८२ साल फागुन ३० गतेदेखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा “Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) नाराका साथ १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना काठमाडौँ हुँदै छ  । सम्मेलनको उद्घाटन १४ मार्च २०२६ तदनुसार २०८२ फागुन ३० गते बिहान ९ बजे हुनेछ । त्यसबीचमा १४ तारिखको साँझदेखि १५ तारिखको साँझसम्म संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । निर्वाचन भौतिक र अनलाइन गरी हाइब्रिड मोडेलमा हुनेछ । यसपटक ४ हजार दुई सय ८६ प्रतिनिधिले भौतिक र अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउनेछन् ।यधपी यसपटक हामि सर्वसम्मतिको पहल गरिरहेका छौ ।
संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै १६ मार्च २०२६ (तदनुसार २ चैत २०८२)साँझ ५ बजे सम्माननीय  प्रधानमन्त्रीज्यूबाट सम्मेलनको समापन हुनेछ ।
यसअघि नै नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री श्री बालानन्द शर्माज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भई सम्मेलन तथा महाधिवेशन सम्बन्धी सम्पूर्ण तयारी समेत पूरा भइसकेको छ  । सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लगायतका विविध सत्रमा छलफल हुनेछ।
नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको उक्त सम्मेलनमा सहभागिता रहनेछ ।
अन्त्यमा, गैरआवासीय नेपाली विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीलाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोगका लागि विशेष अपिल गर्दछौँ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha