बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेपाली राजदूतावास, रियादको प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, रियादको प्रेस विज्ञप्ति

  • Naveen Sanchar

  • आइतवार, चैत्र १८, २०८०

  • 153
    Views
नेपाली राजदूतावास, रियादको  प्रेस  विज्ञप्ति
प्रेस विज्ञप्ति
माननीय परराष्ट्र मन्त्रीज्यूलाई सम्बोधन गरी उजुरी दिएको हवाला दिएर Nepal Views नामक अनलाइन नेपाली मिडियाले हिजो प्रकाशित गरेको समाचारमा यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ। सो उजुरी हालसम्म यस नियोगमा प्राप्त भएको छैन। तथापि यस राजदूतावासका महामहिम राजदूत श्री नवराज सुवेदी, उप-नियोग प्रमुख डा. डमरुबल्लभ पौडेल तथा द्वितीय सचिव श्री टीकाराम उपाध्यायको नाम मुछेर हालिएको भनिएको उजुरी यस नियोगमा प्राप्त भएपछि नियमानुसार जवाफ पठाइने छ। तालुक निकायबाट यस नियोगमा जवाफका लागि आउनु अगाडि नै यो विषय सञ्चार माध्यमबाट आएकोले यस सम्बन्धमा कसैमा भ्रम नपरोस् भनेर यो विज्ञप्ति जारी गरिएको छ।
साउदी अरबमा कार्यरत गैर आवासीय नेपाली संघ, विभिन्न राजनीतिक पार्टीका भातृ संगठनहरू, सामाजिक, भौगोलिक तथा जातीय संस्थाका भातृ संगठनहरू, समाजसेवी तथा हितैषी स्वयंसेवक र नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू समेतको सहयोग र समन्वयमा यस राजदूतावासले सीमित स्रोत, साधन तथा साउदी अरबको विशाल भूगोल, विषम हावापानी र भिन्न परिवेशका बाबजुद नेपाली श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरूलाई सहज रूपमा राहदानी, कन्सुलर, उद्धार, सेल्टर, बहिर्गमन भिसा, शव फिर्ता, विमा तथा क्षतिपूर्ति दावी र घर फिर्ती लगायतका सेवा दिइरहेको कुरा सर्वविदितै छ। मागपत्र प्रमाणीकरण, उद्धार, घर फिर्ती लगायतका कुनै पनि समस्या परेमा तत्काल समाधान गर्न नेपाली राजदूतावास रियादले इजाजत पत्रवालाहरूको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभाग लगायतका सरोकारवाला निकायहरूसँग समय समयमा अनलाइन अन्तरक्रिया गरी समाधान गर्ने गरेको छ ।
यसै सन्दर्भमा रोजगारदाता कम्पनीहरूका मागपत्र प्रमाणीकरण गर्ने कुरामा कसैलाई कहिल्यै कुनै पनि आधारमा भेदभाव गरिएको छैन। यस दूतावासले रीतपूर्वक पेश भएका तथा नेपाली श्रमिकहरूलाई पटक पटक दुखसास्ती दिई बारम्बार उजुरी आएका बाहेकका रोजगारदाता कम्पनीहरूले पेश गरेका मागपत्रहरूका सम्बन्धमा कहिल्यै पनि कुनै पनि तरिकाले नरोकी स्वीकृत गर्ने गरेको कार्यको स्वयं उहाँहरू नै साक्षी हुनुहुन्छ। विद्यमान अनलाइन मागपत्र प्रमाणीकरण प्रक्रिया अनुसार अपरेटर, डकुमेन्ट भेरिफिकेशन अफिसर, श्रम काउन्सेलरले आ-आफूलाई
तोकिएको विषयहरुको जाँच गरी सकेपछि राजदूत/उपनियोग प्रमुखबाट स्वीकृत हुन्छ । राजदूतावासले प्रमाणीकरणका सन्दर्भमा नेपाल सरकारले तोकेको राजस्व बाहेक कुनै पनि रकम लिने गरेको छैन। उजुरीमा भनिए जस्तो यसमा कुनै पनि सेटिङ्ग, मोलाहिजा, लेनदेन लगायतका कुनै पनि अनियमितता भएको छैन। साथै उजुरीमा भनिए जस्तो रोजगारदाता कम्पनीहरूबाट प्रति फायल तीन हजार स्थानीय मुद्रा र प्रति कामदार पाँच हजार रुपियाँ घुसवापत दिएको कुनै प्रमाण भए तथा कुनै रोजगारदाता वा इजाजतपत्रवालाहरूले कुनै पनि कम्पनीको कुनै पनि मागपत्र प्रमाणीकरण गर्दा प्रमाणीकरणमा संलग्न वा दूतावासका कुनै पनि कर्मचारीलाई कुनै रकम दिएको भए यथासिघ्र प्रमाणसहित सार्वजानिक गर्न, उजुरीकर्ता वास्तविक नाममा आउन र पुष्टि गर्न तथा पुष्टि नभएका खण्डमा नियमानुसार कानुनी कारबाहीका लागि तयार रहन समेत यस राजदूतावासको चुनौती छ। यस सम्बन्धमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आधिकारिक धारणा आउने अपेक्षा समेत गरिएको छ।
समाचारमा भनिएको तथ्यहीन र कपोलकल्पित उजुरीको पृष्ठभूमिका सम्बन्धमा यस राजदूतावासले प्रष्ट पार्नुपर्ने भएको छ। राजदूतावसले प्रष्ट नगर्दा यस राजदूतावासले गरेका प्रभावकारी कामहरू छाँयामा परी राजदूतावास र कार्यरत कर्मचारीहरूको छविमा दाग लगाउने र मनोवल गिराउने निच र स्वार्थी तत्वहरू हावी हुने अवस्था पैदा हुने भएकाले यो विज्ञप्ति निकाल्नु पर्ने बाध्यता सिर्जना भएको छ।
केही अनुचित अभ्यास (unethical practice) गर्ने बैदेशिक रोजगार व्यवसायी कम्पनीहरू र यसका मालिकहरूले यस राजदूतावासका महामहिम राजदूत, उप-नियोग प्रमुख, श्रम काउन्सेलर, द्वितीय सचिव लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरूमाथि आफ्ना कुत्सित मनसाय पूरा गर्न साउदी अरबस्थित रोजगारदाता कम्पनीहरूको नाम, ठेगाना, सम्पर्क व्यक्तिको मोवाइल नम्बर, इमेल आदि जस्ता सरोकारवाला व्यक्ति वा कम्पनीको निजी अधिकार (Right to Privacy) को उल्लङ्घन भई कम्पनीले कानुनी उपचार खोज्न सक्ने अधिकार समेत रहेका विषयहरू माग गर्ने तथा आफ्नो कम्पनीको मार्केटिङ्ग गरिदिन, उक्त कम्पनीलाई मागपत्र मिलाइदिन साउदी कम्पनीलाई दवाव दिनका लागि यस राजदूतावासमा मागपत्र प्रमाणिकरणमा संलग्न कर्मचारीहरूलाई विगत देखिनै पटक पटक दवाब दिएर प्रताडित गर्दै आएका थिए।
पुनः यसपटक प्रकाशित समाचारमा प्राप्त उजुरीको प्रकृति हेर्दा यस नियोगमा विगतदेखि आफ्नो स्वार्थ पुरा गर्न लागिपरेका व्यक्ति र समूहहरूले पटक पटक धम्की दिने, नेपालका विभिन्न शक्ति केन्द्रहरूलार्इ प्रयोग गरी अनावश्यक दवाव दिने र त्यस्ता दबाब अनुसार अनुचित काम गर्न अस्वीकार गर्दा यस किसिमको उजुरी दिएको हुनसक्ने प्रष्ट छ।
यसका साथै मागपत्र प्रामीकरणका लागि पारदर्शी अनलाइन प्रणाली लागु गर्ने नेपाल सरकारको श्रम गन्तव्य मध्येको एकमात्र देश साउदी अरबस्थित दुई नियोग (नेपाली राजदूतावास, रियाद तथा महावाणिज्यदूतावास, जेद्धा) मा भएको पारदर्शी प्रमाणीकरण कार्यलाई आफ्ना निहीत स्वार्थ पूरा गर्न नपाएका भ्रष्ट र स्वार्थी तत्वहरूको समूहले पटक पटक हटाउन पहल गर्दै आइरहेका थिए।
यहा स्मरणीय के छ भने मिति २०८० भदौ २५-२६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा “श्रम आप्रवासनका सवालहरू र कुटनीतिक नियोगहरूको भूमिका” विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा सम्पन्न नेपाली श्रमिक कार्यरत देशका महामहिम राजदूतहरू, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इजाजत पत्रवालाहरूको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित र मान्यता प्राप्त कार्यसमिति र यसका पदाधिकारी लगायतका सरोकारवाला निकायहरू समेतको संलग्नतामा आयोजित दुई दिवसीय अन्तरक्रियात्मक वैठकमा भएको निर्णयको बुँदा नं १२ र १३ मा साउदी अरबका दुवै नियोगले हाल प्रयोगमा ल्याएको मागपत्र प्रमाणीकरण गर्ने सफ्टवेर प्रभावकारी भएको ठहर गर्दै अन्य नियोगहरूमा पनि लागु गर्न निर्देशन भएको थियो र हाल यो विषयमा सम्बन्धित निकायहरूले सफ्टवेयर निर्माण गरी लागु गर्ने कार्य गरिरहेको अवस्था छ। यसरी राम्रो अभ्यास भएको नियोगहरूलाई तथ्यहीन लान्छाना लगाउनु प्रविधिको प्रयोग गरी मागपत्र प्रमाणीकरण गर्न प्रयत्नरत परराष्ट्र मन्त्रालयलाई नै प्रहार गरी अपारदर्शी म्यानुअल प्रणालीलाई निरन्तरता दिने कुत्सित मनसायबाट समेत प्रेरित रहेको प्रष्ट छ।
नेपाल सरकारका सरोकारवाला निकायहरूलाई उजुरीमा उठाइएको विषयमा निष्पक्ष छानवीन गर्न यस राजदूतावासले सदैव सहयोग गर्ने व्यहोरा जानकारी गराउँदै यस्ता आधारहीन उजुरीले कर्तव्यनिष्ठ राष्ट्रसेवकहरूको मनोवल गिराउने र कार्यकुशलतामा समेत असर गर्ने भएकोले समाचारको रूपमा प्रकाशित गर्नु वा सामाजिक सञ्जालहरूमा शेयर गर्नु पूर्व यस राजदूवासको आधिकारिक धारणा लिनुहुन समेत सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक अनुरोध छ।
अन्तमा नेपाल सरकारका नीति तथा निर्णयहरूको पूर्ण पालना गर्दै सदा झैं अविचलित रही नेपाली श्रमिक दाजुदाइ तथा दिदी बहिनीहरूको हक, हित र बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने पक्षमा यो राजदूतावास दृढतापूर्वक उभिने प्रतिवद्धता समेत व्यक्त गर्दछ।
मितिः २०८०।१२।१८ गते


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha