बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

१२ लघुकथाकारका १२ लघुकथा ।

१२ लघुकथाकारका १२ लघुकथा ।

  • Naveen Sanchar

  • बुधबार, चैत्र १८, २०८२

  • 74
    Views
१२ लघुकथाकारका १२ लघुकथा ।

नारदप्रसाद आचार्य सुगामा अनेरिका। अप्रेल ०१-२०२६।

१)
लघुकथा: कुर्सी

✍️अम्बिका धिताल
काभ्रेपलाञ्चोक हाल कमलविनायक भक्तपुर।

“तिमी किन यति मौन छौ?” मैले बैठकको कुनामा भएको कुर्सीसँग प्रश्न गरेँ।

कुर्सी मुस्कुराउँदै बोल्यो “म मौन होइन, म त बोलिरहेको छु। बरू तिमीहरू नै बहिरा छौ ।” म झस्किएँ।

बैठक कोठाभरि शून्यता थियो तर कुर्सीको काठमा कुँदिएका नङ्ग्राजस्ता बुट्टा भने टल्किरहेका थिए।

“तिमी त बस्ने वस्तु मात्र हौ,” मैले प्रतिवाद गरेँ ।

“बस्ने?” कुर्सीको स्वर अलि कडा भयो ।

“तिमीमाथि जो बस्छ, ऊ आफूलाई देश ठान्छ तर तिमी त बस्ने काठ नै हौ।” मैले साहस बटुलेरै भनेँ ।

कुर्सी बोलेन ।

मैले फेरि सोधेँ। “सत्ता कति भारी हुन्छ?”

कुर्सीले हाँसेर भन्यो,“सत्ता भारी हुँदैन तर ममाथि बस्नेको भने पेट र पाप भारी हुन्छ।”

म मौन भएँ। कुर्सीका चार खुट्टामा चार दिशाको कथा भरिएको थियो ।

पूर्वतिर आशा,पश्चिमतिर षड्यन्त्र,उत्तरमा वाचा,दक्षिणमा खै के हो स्पष्ट देखिएन।

बैठक सुरु भयो । अगाडिको अग्लो भागमा रहेको कुर्सीमा एउटा नयाँ मानिस आयो र बस्यो।

कुर्सीले लामो सास फेर्यो । बस्नेको अनुहार बदलिएको थियो।

अन्त्यमा कुर्सीले बिस्तारै भन्यो,“मानिसहरू बदलिन्छन्, म कहिल्यै बदलिन्नँ , ममाथि बसे पछि उनीहरूको आत्मा मात्रै कुहिन्छ।”

२)
लघुकथा: अदृश्य

✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका

“तिमीलाई दुईओटा खबर छन्।”

एक बिहानै फोनको घण्टीले मलाई झस्कायो। धेरै दिनपछि अमरले मलाई सम्झेका थिए। उनी बेलाबेला समीरका खुसीका खबर ल्याउँथे। समीर एक आदर्शवादी मित्र थिए। उनको प्रशंसा साथीभाइ माझमा चुलिएको थियो। अमेरिकी जीवन अत्यन्त व्यस्त थियो । साथीभाइसँग भेटघाट गर्न मसँग फुर्सदै हुँदैनथ्यो।

मैले जिज्ञासा राखेँ, “कस्ता खबर हुन्, मित्र?”

हालखबर सोधपुछ गरेपछि उनले धेरै कुरा सुनाए। मनमा एक किसिमको कौतूहल बढ्दै गयो। अन्त्यमा उनले दुईमध्ये एउटा खबर रोज्न लगाए । सुखद वा दु:खद। समाचार सुन्ने उत्कण्ठाले एक्कासी मेरो मुखबाट ‘दुःखद’ शब्द निस्कियो ।

अमरले मलिन स्वरमा भन्यो,”आकाशले सहर छोडेछ।”

जिज्ञासापूर्वक मैले भनेँ, “ल…! हो र? के भयो उसलाई? अनि अर्को सुखद कुरा चाहिँ के हो यार?”

थमथमाउँदै ऊ बोल्यो,”अस्ति पवित्र स्थलमा अश्लील शब्दले पुष्पवृष्टि गर्ने ‘व्यक्तित्व’ थाहा पाइयो नि! वास्तविकता पत्ता लगाउँदा नररूपी नरपशु पो रहेछन्।”

म अचम्ममा परेँ। त्यो कुरा मेरो कानलाई विश्वास भएन, किनकि विषय मेरो सहृदयी मित्रसँग जोडिएको थियो। अनि उनी आदर्शका पात्र पनि थिए। जानीजानी मैले सोधेँ,

“को रहेछन् ती भाग्यमानी महोदय?”

उताबाट उत्तर आयो, “हावाले भरिएको बेलुनजस्तो उडन्ते नबनी आदर्शवान बन्दा के जान्थ्यो र !”

३)
लघुकथा : पुरानो जुत्ता

✍️टेकेन्द्र सिंह धामी (बैतडी)

गाउँको त्यो साँघुरो बाटोमा हिँड्दै गर्दा रामुका जुत्ता फेरि च्यातिए। ऊ केही बेर टोलाएर उभियो अनि नाङ्गै खुट्टाले अगाडि बढ्यो।

विद्यालय पुग्दा साथीहरूले जिस्क्याए,“ए रामु ! जुत्ता कहाँ गयो?”

ऊ मुस्कुरायो, केही बोलेन।

कक्षा सकिएपछि शिक्षकले उसलाई बोलाए,“किन जुत्ता नलगाएको?”

रामुले टाउको झुकाउँदै भन्यो,“सर, बाबाले नयाँ किन्ने भन्नुभएको छ… तर उहाँ दुई महिनादेखि घर आउनुभएको छैन।”

शिक्षक चुप लागे। अर्को दिन रामुको टेबलमा नयाँ जुत्ता राखिएको थियो।

रामु खुसीले उफ्रियो,“सर! बाबाले पठाउनुभयो होला है?”

शिक्षकले मुस्कुराउँदै भने,“हो रामु, तिम्रो बाबाले नै पठाउनुभएको… तिमी पढाइमा मन लगाऊ।”

रामुले जुत्ता छातीसँग टाँस्दै भन्यो,“म ठुलो मान्छे बनेर बाबालाई खुसी बनाइदिन्छु।”

शिक्षकका आँखा रसाए… किनकि उनलाई थाहा थियो। रामुको बाबा कहिल्यै फर्केर आउने छैनन् ।

४)
लघुकथा : अनुभूति

✍️अनिता भण्डारी

“किन यति चिन्तित?” बिहानी कक्षा बालबालिका पढाउँदै गरेकी सीताले हरिकाे अनुहार नियाल्दै भनिन् ।

हरिले गहिरो सास फेर्दै भन्यो, ” हाम्रो देशको अवस्था देखेर ।”

सीता उत्सुक हुँदै सोधिन्, “कस्तो अवस्था?”

हरिले भने, “नेताहरू भाषणमा देश बचाउने कुरा गर्छन्, तर सडकमा अझै भोका, नाङ्गा जनता छन् । भ्रष्टाचार र अन्यायको अन्त्य भएको छैन । आज मैले अलिकति प्रयास गरेँ भोकै बसिरहेका केहीलाई खाना र कपडा दिएँ।”

सीताले मुस्कुराउँदै सोधिन्, “अनि फोटोभिडियो लिनुभयो त ?”

हरिले टाउको हल्लाउँदै भने, “धत्! मैले केही लिइन। देशको सच्चा सेवा भनेको नाम र प्रतिष्ठाका लागि होइन, नि!”9

सीता गम्भीर हुँदै भनिन्, “साँचो हो, देखिने सुधार त कागजमा मात्रै हुन्छ, तर लुकेको सेवा नै देशको असली शक्ति हो।”

हरि मुस्कुराउँदै भने, “देशको साँचो परिवर्तन त त्यही हो, जसले जनता भोकै छैनन् भन्ने अनुभूति दिन्छ।”

५)
लघुकथा: कहिले ?

✍️भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व

गाउँको सानो चिया पसलमा बिहानैदेखि बहस चलिरहेको थियो।

“अमेरिका जस्तो नेपाल कहिले बन्छ?” कसैले चियाको चुस्की तान्दै प्रश्न छोड्यो।

कोही नेताको आलोचना गर्न थाले, कोही देशलाई दोष दिन।

त्यसै बेला, एउटा सानो केटो आफ्नो बाबुको हात समाउँदै त्यहीँ आयो। बाबुले चिया पिएर गिलास टेबलमै छोडेर उठे।

केटोले भन्यो,“बुबा, गिलास त्यहीँ किन छोड्नुभयो? हामीले राखेको ठाउँमा राख्नुपर्छ नि!”

बुबा लाजले रातो भए । गिलास उठाएर ठाउँमा राखे।

चिया पसल फेरि शान्त भयो।

त्यो सानो घटनाले सबैलाई चेतना दिलायो ।

त्यसपछि कसैले फेरि सोध्यो, “अमेरिका जस्तो नेपाल कहिले बन्छ?”

अर्कोले चिया राख्दै भन्यो, “जब हामी बदलिन्छौँ ,त्यही दिन बन्छ ।”

६)
लघुकथा : बच्छ्युँ र जुनकिरी
✍️रिमेन आलोक, अष्ट्रेलिया।

कुरा एक साँझको हो।
एउटी गर्भवती जुनकिरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यसै बेला एउटा बच्छ्युँसँग उसको भेट भयो। बच्छ्युँ आफूलाई गाउँको सबैभन्दा बाठो जीव सम्झिन्थ्यो। त्यसमाथि ऊ आफ्नो रूपको निकै घमण्ड गर्थ्यो। आफूले अरूलाई चिल्थ्यो तर दोष भने जुनकिरीलाई दिन्थ्यो।

बच्छ्युँको यस्तो क्रियाकलापले सारा गाउँले हैरान मात्र होइन, वाक्क भएकाले थिए। गाउँलेहरू नदी किनारको छेउमा भेला भई सल्लाह गर्दै गर्दा दुई चलाख सलाइ र लाइटर त्यहाँ आइपुगे। गाउँलेहरूको सबै बिलौना सुनिसकेपछि आफू भने केही नबोली सलाइ र लाइटर आफ्नो बाटो लागे।

केही दिनपछि साँझपख बच्छ्युँ, सलाइ र लाइटरको भेट भयो। बच्छ्युँले हतारिँदै फुर्केर भन्यो ,“ए! सलाइ र लाइटर, तिमीहरूजस्तो शक्तिशाली मैले आजसम्म केही पनि देखेको छैन।”
सलाइले मुख खोल्न नपाउँदै उसले थप्यो,“तिमीहरूले चाहेमा यो सारा गाउँ-बस्ती एकैछिनमा ध्वस्त बनाउन सक्छौ। त्यसो भयो भने विद्रोहीको विनाश हुनेछ र तिमीहरूको राज्य चल्नेछ।”

बच्छ्युँका कुरा सुनेपछि सलाइले नम्र हुँदै भन्यो,“तिमी त उडेर संसार घुम्न सक्छ्यौ। तिम्रा पखेटामा जति सुगन्ध र जादू छ, त्यो मैले अरू कुनै जीवमा देखेको छैन। अझ यो लाइटरको उज्यालो वरिपरि घुम्यौ भने सारा गाउँले चकित पर्नेछन् र तिम्रो बाठोपनको गुणगान गाउनेछन्।”

आफूलाई सलाइले फसाउन खोजेको बच्छ्युँले पत्तै पाएन। अरूको लहैलहैमा नाच्न ऊ उत्साहित भएर मुस्कुराउँदै बोल्यो, “हुन्छ लाइटर साहेब! तपाईं बल्नुहोस्, म तपाईंको वरिपरि घुम्दै पखेटा फिजाएर छमछम नाच्नेछु , यी गाउँलेका अगाडि।”

रात छिपिँदै थियो। लाइटरले आफ्नो धर्म निभायो र सल्कियो। केही बेरको उफ्राइमै बच्छ्युँको पखेटा लाइटरको रापले डढ्यो र उड्न नसक्ने भई भुइँमा गल्र्याम्म ढल्यो।
दुवै लाइटर र सलाइले उसको साथ छाडे र आफ्नो बाटो लागे। यो सबै दृश्य जुनकिरीले नजिकै बसेर हेरिरहेकी थिई।
त्यत्तिकैमा गाउँलेहरू पनि बच्छ्युँ भएको ठाउँमा आइपुगे। बच्छ्युँ गुहार मागिरहेको थियो तर कसैले उसको वास्ता गरेनन्। जुनकिरी छेउमा आएर मुस्कुराई। बच्छ्युँ कालो निलो भइसकेकी थियो। गाउँलेहरूले जुनकिरीको प्रकाशको सहाराले अन्तिमपटक बच्छ्युँलाई नियाले।

बच्छ्युँले सबैसँग सहारा माग्दै रोइरहेको थियो तर कसैले उसको गुहार सुनेनन्। बरु सबैले एकै स्वरमा भने,“घमण्डको परिणाम यस्तै हुन्छ।”

७)
लघुकथा: साँचो खुशी
✍️सुनिल बोहरा,बझाङ ।

गाउँको एउटा सानो घरमा राम नामको केटा बस्थ्यो। उसको परिवार धनी थिएन, तर उनीहरू सधैँ हाँसिरहेका हुन्थे।
रामसँग नयाँ लुगा थिएनन्, महँगा खेलौना पनि थिएनन्, तर ऊ सधैँ खुसी देखिन्थ्यो।

त्यो दिन शहरबाट आएको एउटा केटाले रामलाई सोध्यो, “तिमीसँग केही छैन, तिमी किन यति खुसी छौ?”
रामले मुस्कुराउँदै भन्यो, “मसँग परिवार छ, माया छ र सन्तुष्टि छ। यी सबैभन्दा ठुला धन हुन्।”

शहरको केटा केही बेर चुप लाग्यो। उसले पहिलो पटक बुझ्यो, ‘खुसी पैसाले होइन, मनको सन्तुष्टिले आउँछ।’

८)
लघुकथा : व्यस्तता
✍️कल्पना मरासिनी,अर्घाखाँची ।

“कसैलाई नबाँडिकन राम्रोसँग खानू नि!” चाउचाउको प्याकेट छोराको झोलाभित्र घुसार्दै रमा बोलिन्।

“हुन्छ, आमा!” भन्दै छोरा स्कुल बसमा चढ्यो।
त्यसपछि रमा हतारहतार घर फर्किन् र सोफामा अडेस लागेर टिकटक, फेसबुक र युट्युब हेर्न थालिन्। हेर्दाहेर्दै १२ बजिसकेछ। उता भान्छामा खानामाथि झिँगा भन्किरहेका थिए। उनलाई खाना खान मन लागेन र बट्टाबाट दालमोठ र चिउरा निकालेर खाँदै साथीहरूसँग भिडियो कलमा व्यस्त भइन्।

साँझ छोरा स्कुलबाट फर्कियो।
“आमा, भोक लाग्यो। के खाजा पकाउनुभएको छ?”
यो सुन्नासाथ उनी रिसाउँदै बोलिन्, “आफूलाई दिनभरि फुर्सद भए पो त पकाउनु! बरु जाऊ, पसलबाट चाउचाउ र बिस्कुट किनेर ल्याएर खाऊ।”

छोराको हातमा पैसा थमाउँदै उनी फेरि मोबाइलमै व्यस्त भइन्। छोरा पसलतिर लाग्यो। ऊ फर्केर आउँदा आमा झन् व्यस्त देखिन्थिन् उही मोबाइल फोनमा….

९)
लघुकथा: भोगाइ
✍️कला ढकाल, झापा।

बरण्डामा बसेर बाहिर मात्र के हेरेकी थिइन् उनको मस्तिष्कमा त्यो बितेको पल आयो । वर्षौँ पहिले मेरा लोग्ने, अर्थात् सन्तानका बाको निधन भएको थियो। दुई सन्तान हुर्काउँदै बसेकी म एकल आमा थिएँ। आर्थिक अभावका कारण छोराछोरीलाई राम्रोसँग शिक्षा दिन सकिनँ।

त्यही कारण छोरा कुलतमा फस्यो। उसलाई जति प्रयास गरे पनि सुधार्न सकिएन। ऊ दिनप्रतिदिन कुलतमा झन् फस्दै गयो। एकदिन त घरमै प्रहरी आएर उसलाई लिएर गयो। हेर्दाहेर्दै आफ्नै सन्तान गाँजाचरेसको लतमा परेर आजीवन कारावासमा पर्यो।

भित्रैबाट परिवर्तन ल्याउन प्रयास गर्दागर्दै सर्वस्व सकियो। कुलतमा लाग्नुको मुख्य कारण बेरोजगारी र मानसिक तनाव रहेछ। सन्तानलाई समयमै सकारात्मक ऊर्जा, माया, ममता दिन नसक्नु पनि कारण रहेछ। म दिनरात अर्काको मेलामा जानुपर्ने बाध्यता थियो।

असमयमै सन्तानका बालाई भगवान्ले लगिहाले। हुर्केको छोरो जेलमा छ। उनी झल्यास्स भइन्। यो कस्तो भोगाइ!

१०)
लघुकथा: अधुरो सपना
✍️सलिन विष्ट बनेपा–१२, काभ्रे।

गाउँको बाटो हुँदै सहर छिर्दा रमेशको आँखामा एउटै सपना थियो। एउटा सानो घर र सुखी परिवार। दिनरात पसिना बगाएर उसले सहरको एक कुनामा एउटा सुन्दर घर ठड्यायो।

हरेक इँटा थप्दा उसले आफ्नी वृद्ध आमालाई सम्झ्यो । जसले उसलाई डोकोमा बोकेर हुर्काएकी थिइन्। घर तयार भएपछि उसले आमालाई लिन गाउँ जाने निधो गर्‍यो।
“अब तिमीलाई कहिल्यै दुःख दिन्नँ, आमा। अब तिमी मेरै घरमा बस्छौ,” रमेशले बाटोभरि सोचिरह्यो।

रमेश खुसी हुँदै आँगनमा पुग्यो। तर घरको ढोकामा झुन्डिएको ताल्चा र भित्तामा टाँसिएको सेतो कपडा देखेपछि उसको पाइला टक्क रोकियो।

छिमेकी काकाले आँसु पुछ्दै भने, “बाबु, तिमीले घर त बनायौ, तर तिम्री आमाले तिम्रो बाटो हेर्दाहेर्दै हिजो श्वास फेर्न छाडिन्।”

११)
लघुकथा: चुरोटको ठुटो
✍️अम्बिका राणा खरसाङ, दार्जिलिङ।

बाटोमा एउटा चुरोटको ठुटो लडिरहेको थियो।
म त्यसको छेउमा गएँ र सोधेँ, “तिमीलाई यहाँ कसले फ्याँक्यो?”

चुरोटको ठुटोले उत्तर दियो, “एक जना दाजुले एक–दुई सर्का तानेर मलाई यहाँ फ्याँक्नुभयो।”

मैले फेरि भनेँ, “सायद उहाँसँग धेरै पैसा होला, त्यसैले तानेर तिमीलाई यसरी मिल्काउनुभयो होला।”

त्यसपछि ठुटोले ठूलो स्वरमा भन्यो, “उहाँलाई के थाहा! सधैँ यस्तै गर्नुहुन्छ। हामी त एउटै प्याकेटका साथीहरू थियौँ। कोही कता पुगे, कोही कता। अब मलाई उहाँको बानीदेखि धेरै रिस उठ्न थालेको छ।”

मैले जिज्ञासापूर्वक सोधेँ, “किन र?”
ठुटोले भन्यो, “अब म बिस्तारै उहाँको फोक्सोमा पुग्नेछु। मैले आफ्ना साथीहरूलाई पनि भनेको छु,‘तिमीहरूले पनि नछोड्नु है।’ हामी सबैले मिलेर उहाँलाई नै सक्नुपर्छ।”

म केही सोचमा परेँ। केही बेरपछि छिमेकका एक जना मामा साह्रै बिरामी परेको खबर आयो। सबैले भने, “चुरोटकै कारण यस्तो भयो।”

त्यस दिनदेखि म आफूलाई सम्झाइरहन्छु,
“चुरोट नपिउनुहोस्, यो स्वास्थ्यका लागि घातक हुन्छ।”

१२)
लघुकथा: उज्यालो मन
✍️डि. पी. शर्मा खनाल।

अर्जुन, माया र रोहित विद्यालयबाट घर फर्किरहेका थिए। बाटोमा उनीहरूले एउटा सानो बालक रोइरहेको देखे। उसको नाम दीपक रहेछ। ऊ अत्यन्त गरिब परिवारको थियो र पढ्न चाहन्थ्यो, तर किताब, कापी र कलम किन्ने पैसा थिएन।

अर्जुनले भन्यो, “यदि हामी सबैले सानो सहयोग गर्‍यौँ भने उसले अवश्य पढ्न सक्छ।”

मायाले आफ्नो बचतबाट केही पैसा दिइन्। रोहितले पनि आफ्ना पुराना तर राम्रो अवस्थाका किताबहरू दीपकलाई दियो।
दीपकको आँखामा खुसीका आँसु आए। उसले भन्यो, “म ठुलो भएर अरूलाई पनि यस्तै सहयोग गर्नेछु।”

केही वर्षपछि दीपक कठिन मेहनत गरेर सफल शिक्षक बन्यो। उसले गाउँका गरिब बालबालिकालाई निःशुल्क पढाउन थाल्यो।

त्यस दिन अर्जुन, माया र रोहितले गरेको सानो सहयोगले एउटा बालकको मात्र होइन, धेरै बालबालिकाको भविष्य उज्यालो बनायो। सानो राम्रो कामले पनि कहिलेकाहीँ ठुलो परिवर्तन ल्याउँछ।

१३)
लघुकथा : अन्न र अम्बल
✍️बिबा तामाङ, दार्जिलिङ।

अन्न र अम्बलबिच बाजी लाग्यो।अन्नले गर्व गर्दै भन्यो, “मानिस म बिना बाँच्न सक्दैनन्।”

अम्बल मुस्कुरायो,“होइन। म बिना पनि उनीहरू बाँच्न सक्दैनन्।”

अन्नले प्रश्न गर्‍यो, “म अन्न हुँ । पेट भर्ने, प्राण जोगाउने, शक्ति दिने गर्छु।”

अम्बल शान्त स्वरमा बोल्यो, “के तिमीलाई दुई औँलाले च्यापेर मात्रै खाने चीजसँग तुलना गर्न मिल्छ?”

“जे भन, तर म बिना मानिसले बत्तीस व्यञ्जन खाँदा पनि सन्तुष्टि पाउँदैनन्।” अन्नले जवाफ दियो

“म नभए स्वाद अधूरो हुन्छ। मानिस जीवित भएर पनि मरेतुल्य महसुस गर्छन् ।मेरो निम्ति त मानिस नचिनेका मान्छेसँग पनि झुक्न पुग्छ।”” भन्दै अम्बलले घमण्ड देखायो।

यो कुरा सुनेर अन्न पनि केही बेर मौन रह्यो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha