१८ चैत । लिस्बन, पोर्चुगल – पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली नागरिकले पहिलोपटक ‘बोम्बेइरो’ (दमकलकर्मी) को रूपमा सेवा सुरु गरेका छन्। ४१ वर्षीय राज भण्डारी मोइता नगरपालिकामा आधिकारिक रूपमा दमकल सेवामा आबद्ध भएका हुन्।
कयौं वर्षदेखि परिवारसहित पोर्चुगलमा बस्दै आएका भण्डारी पेशाले मेकानिक हुन्। उनले स्वेच्छिक रूपमा दमकल सेवामा प्रवेश गर्न आवेदन दिएका थिए र आवश्यक तालिम तथा परीक्षण पूरा गरेपछि उनलाई नियुक्त गरिएको हो।
उनको नियुक्तिलाई पोर्चुगलस्थित नेपाली समुदायले ऐतिहासिक उपलब्धिको रूपमा लिएको छ। यसले आप्रवासी समुदायको समाजप्रतिको योगदान र समावेशीतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसबीच, एक अज्ञात व्यक्तिबाट विदेशी नागरिकलाई दमकल सेवामा समावेश गरिएको विषयमा गुनासो आए पनि त्यसले नियुक्ति प्रक्रियामा कुनै असर नपारेको बताइएको छ। पोर्चुगलमा नेपाली समुदायको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ, विशेषगरी लिस्बन आसपासका क्षेत्रमा।