मङ्लबार, चैत्र १०, २०८२ | March 24, 2026

उज्यालो चेतना: मानव अस्तित्वको परम आधार 

उज्यालो चेतना: मानव अस्तित्वको परम आधार 

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र १०, २०८२

  • 98
    Views
उज्यालो चेतना: मानव अस्तित्वको परम आधार 

तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार

आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

मानव जीवन अन्धकारबाट उज्यालोतर्फ, अज्ञानबाट ज्ञानतर्फ, सीमितताबाट अनन्ततर्फको चेतनाको यात्रा हो। यही यात्राको केन्द्रमा उभिएको छ—उज्यालो चेतना। यो त्यस्तो शक्ति हो, जसले मानिसलाई बाँच्न मात्र होइन, अर्थपूर्ण रूपमा बाँच्न सिकाउँछ। जब मन उज्यालो हुन्छ, तब जीवनका कठिनाइहरू पनि अवसरझैँ देखिन थाल्छन् र पीडा पनि शिक्षामा रूपान्तरित हुन्छ।

उज्यालो चेतना कुनै बाह्य वस्तु होइन, न त यो बजारमा किनिने चीज हो। यो त आत्मभित्रको त्यो दिव्य ज्योति हो, जसले विवेक, नैतिकता र करुणालाई जन्म दिन्छ। जब मानिस आफ्नो चेतनालाई शुद्ध र सकारात्मक बनाउँछ, तब उसले संसारलाई नयाँ दृष्टिले हेर्न थाल्छ। द्वेष, ईर्ष्या र अहंकारजस्ता अन्धकारमय तत्वहरू क्रमशः क्षीण हुँदै जान्छन् र प्रेम, सहानुभूति तथा धैर्यजस्ता गुणहरू फुल्न थाल्छन्।

आजको संसारमा भौतिक प्रगति तीव्र छ, तर मानसिक शान्ति भने दुर्लभ हुँदै गएको छ। कारण स्पष्ट छ हामीले बाह्य उज्यालो त खोज्यौँ, तर आन्तरिक उज्यालोलाई बेवास्ता गर्यौँ। प्रविधि, शक्ति र धनले जीवनलाई सजिलो बनाउन सक्छ, तर अर्थपूर्ण बनाउन सक्दैन। अर्थपूर्णता त केवल उज्यालो चेतनाबाट नै जन्मिन्छ। जब चेतना उज्यालो हुन्छ, तब मानिसले आफ्नो उद्देश्य बुझ्छ, आफ्नो कर्तव्य चिन्छ, र आफ्नो अस्तित्वलाई सही दिशामा अगाडि बढाउँछ।

उज्यालो चेतना गहिरो आत्मबोध हो। यसले मानिसलाई सत्य र असत्यबीचको भिन्नता बुझ्न सक्ने क्षमता दिन्छ। जब यो चेतना जागृत हुन्छ, तब व्यक्ति बाह्य परिस्थितिको दास रहँदैन, बरु आफ्नै सोच र मूल्यहरूको स्वामी बन्छ। यही अवस्था नै वास्तविक स्वतन्त्रता हो—जहाँ मानिस बाह्य अन्धकारबाट प्रभावित हुँदैन, बरु आफ्नो भित्री प्रकाशबाट निर्देशित हुन्छ।

आत्मिक परिष्कारले मानिसलाई सानो घेराबाट ठूलो परिवारको बोध गराउँछ। सहअस्तित्व  केवल सहनशीलता होइन, गहिरो स्तरमा आत्मीयता हो। जसले अर्कोको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्छ, उसले मात्र सहअस्तित्वलाई जीवन्त पार्न सक्छ। आत्मिक परिष्कार बिना सहअस्तित्व सम्भव छैन। समाजले चाहेको वास्तविक शान्ति, सद्भाव र सामूहिक समृद्धि अन्तरमनको जागरणबाट आउँछ। आत्मा उज्यालो भयो भने समाजमा घृणाको अन्धकार टिक्दैन। चेतना स्वच्छ भयो भने सभ्यताको आधार बलियो हुन्छ। त्यसैले, आत्मिक परिष्कारलाई सामूहिक उद्धारको मूल आधार मान्नुपर्छ।

अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।

जीवनको वास्तविक यात्रा बाहिरी उपलब्धिमा मात्र सीमित हुँदैन। बाह्य सफलता, सम्पत्ति र नामले क्षणिक सन्तुष्टि त दिन सक्छ तर आत्मा त अझ गहिरो अर्थ खोजिरहेको हुन्छ। जब मानिस आफ्नो अन्तरमनलाई निखार्न थाल्छ, त्यतिबेलामात्र आत्मिक परिष्कारको द्वार खुल्छ। आत्मा शुद्ध भए समाज शान्त हुन्छ। आत्मा दूषित भए, सभ्यता नै असन्तुलित हुन्छ।

मनको उज्यालो र मानवत्वको सम्बन्ध दार्शनिक दृष्टिले गहिरो छ। प्लेटो र अरिष्टोटलका अनुसार, चेतनाको शुद्धता नै जीवनको सर्वोच्च लक्ष्य हो। पूर्वीय दर्शनले पनि यही कुरा पुष्टि गर्छ। भगवद् गीता, उपनिषद् र बौद्ध ग्रन्थले मनको उज्यालोलाई जीवनको मार्गदर्शक शक्ति मान्छन्।

मनको उज्यालो मानव जीवनको आधारभूत शक्ति हो। यसले सामाजिक र आध्यात्मिक उन्नतिलाई पनि सुनिश्चित गर्छ। जहाँ मन उज्यालो छ, त्यहाँ विवेक, करुणा, सहिष्णुता र मानवत्वको विकास स्वतः हुन्छ। पौराणिक, दार्शनिक र आध्यात्मिक दृष्टान्तहरूले स्पष्ट देखाउँछन् कि मन उज्यालो बिना साँचो मानवत्व सम्भव छैन।

जहाँ मन उज्यालो हुन्छ, त्यहाँ विवेक, करुणा र निःस्वार्थ प्रेम प्रकट हुन्छ। मन अन्धकारपूर्ण छ भने शक्ति, ज्ञान वा प्रतिष्ठा भए पनि व्यक्ति पतनको बाटोमा हुन्छ। यसरी, मानवत्वको विकास केवल बाह्य गुणमा होइन, मनको उज्यालोमा निर्भर हुन्छ। मन उज्यालो बनाउन आत्म-परिष्कार आवश्यक छ। आत्म-परिष्कार आत्मनिरीक्षण, मनोबल विकास, अहंकार र नकारात्मक भावना नियन्त्रण गर्नु हो। योग, ध्यान, साधना, प्रार्थना र सत्कर्मले आत्मा उज्यालो बनाउँछ र मनको प्रकाश फैलाउँछ।

समाज र राष्ट्रको निर्माण पनि व्यक्तिको चेतनाबाट नै सुरु हुन्छ। यदि व्यक्तिको चेतना उज्यालो छ भने समाज स्वतः उज्यालो हुन्छ। यदि चेतना अन्धकारमा छ भने, प्रगति बाहिरी देखावाटि मात्र रहन्छ। त्यसैले, उज्यालो चेतना केवल व्यक्तिगत आवश्यकता होइन, यो सामाजिक र राष्ट्रिय आवश्यकता पनि हो। यो नै शान्ति, सहिष्णुता र न्यायको आधार हो। उज्यालो चेतना मानव अस्तित्वको परम आधार हो। यो त्यस्तो ज्योति हो, जसले जीवनलाई दिशा दिन्छ, अर्थ दिन्छ, र मूल्य दिन्छ। बाह्य संसार परिवर्तनशील छ, तर आन्तरिक चेतना स्थायी शक्ति हो। यदि हामीले आफ्नो मनलाई उज्यालो बनाउन सकेनौँ भने, संसारको कुनै पनि उज्यालो पर्याप्त हुँदैन। तर यदि मन उज्यालो भयो भने, अन्धकारकै बीचमा पनि जीवनले आफ्नो मार्ग पाउँछ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् )


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha