अलकासिम, साउदी अरब — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अलकासिमद्वारा मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र को अवसरमा भव्य भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ।
मार्च २०, २०२६ शुक्रबारका दिन अलकासिम स्थित Raoom Glass Company (सिसा कम्पनी) को कम्पाउन्डमा आयोजित उक्त प्रतियोगिता नकआउट आधारमा सञ्चालन गरिएको थियो। प्रतियोगिताको संयोजन एनआरएनए आरसीसी अलकासिमका युवा संयोजक मोहनजंग छेत्रीले गर्नुभएको थियो।
कार्यक्रममा एनआरएनए आईसीसीका निवर्तमान सदस्य विशाल कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा तथा एनआरएनए एनसिसी साउदी अरबका सचिव धुर्व कटुवाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै एनआरएनए एनसिसी साउदी अरबका सल्लाहकार राजकुमार श्रेष्ठ, सदस्यहरू कृष्ण अधिकारी र काजिमान कन्दङ्वा, आरसीसी सल्लाहकार तील राना तथा नेपाल तामाङ घेदुङ का क्षेत्रीय अध्यक्ष बीर बहादुर तामाङ लगायत विभिन्न समाजसेवी तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा रियाद र अलकासिम क्षेत्रका गरी कुल १० टोलीहरूको सहभागिता रहेको थियो। इदको बिदाको अवसर पारेर विभिन्न कम्पनीहरूबाट आएका दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
नकआउट आधारमा खेलाइएको प्रतियोगिता निकै प्रतिस्पर्धात्मक बनेको थियो। रियादबाट आएको तनहुँ स्पोर्ट्स टिमले उपाधि जित्न सफल भयो भने ओनाइजाको काठमाडौं स्पोर्ट्स टिम दोस्रो स्थानमा रह्यो। त्यसैगरी प्रवासी नेपाली समाज साउदी अरब तेस्रो स्थानमा सीमित रह्यो।
प्रमुख तथा विशिष्ट अतिथिहरूको हातबाट विजेता टोलीलाई १५०० साउदी रियालसहित ट्रफी र पदक, उपविजेतालाई ८०० रियालसहित ट्रफी र पदक तथा तेस्रो स्थान हासिल गर्ने टोलीलाई ४०० रियालसहित ट्रफी र पदक प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस्ता खेलकुद गतिविधिहरूले नेपाली समुदायबीच एकता र भाइचाराको भावना सुदृढ बनाउने उल्लेख गर्नुभयो। विशिष्ट अतिथिहरूले पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमका अध्यक्ष तथा एनआरएनए आरसीसी अलकासिमका अध्यक्ष विनोद खड्का ले कार्यक्रम सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुर्याउने इस्लामिक सेन्टर बुरैदा लगायत सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरू— राजेन्द्र अर्याल, हेम सुबेदी, कुबेर हुमागाई, विशाल कुमार श्रेष्ठ, उमेश भट्टराई, मनिष कोराला, काजीमान कन्दङ्वा, सुरज सापकोट, अनिल कटुवाल लगायत विभिन्न संस्था— नेपाल तामाङ घेदुङ, Gorkha Hotel, IME Travel, Everest Hotel, City Express Money Transfer, eSewa Money Transfer तथा सिसा कम्पनीका सम्पूर्ण साथीहरूलाई आरसीसी परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
