-विष्णु सापकोटा
जापान ।
जापानमा रहेका नेपाली युवाबीच खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ(एनआरएनए), जापानलेले ‘तेस्रो NRNA Futsal Running Cup 2026’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी ५ अप्रिल २०२६ (आइतबार) जापानको Fuji सहरमा आयोजना गरिनेछ। जापानभर रहेका नेपाली युवाहरूलाई खेलकुदमार्फत एउटै मञ्चमा ल्याई मित्रता, सहकार्य र सामुदायिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि प्रवेश शुल्क ¥41,000 निर्धारण गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। घोषित पुरस्कार संरचना अनुसार प्रथम हुने टिमले ¥400,000, दोस्रो हुने टिमले ¥200,000 तथा सेमिफाइनलमा पुग्ने टिमले ¥50,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगत विधातर्फ बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट गोलकिपर लाई जनही ¥10,000 नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता NRNA Japan Regional Committee को सहयोग तथा NRNA Japan LCC Shizuoka को सह–आयोजनामा सम्पन्न हुन लागेको हो। प्रतियोगिताको प्राविधिक साझेदारका रूपमा Nepalese Football Association Japan रहेको छ भने मिडिया पार्टनरका रूपमा Goal Japan ले सहकार्य गर्नेछ। आयोजकले जापानभर रहेका नेपाली खेलाडी, टिम तथा खेलप्रेमीहरूलाई उक्त प्रतियोगितामा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक समितिका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने बताइएको छ। यस प्रतियोगिताले जापानमा रहेका नेपाली युवाहरूलाई खेलकुदमार्फत जोड्ने मात्र नभई प्रवासमा नेपाली समुदायबीच एकता, स्वास्थ्यप्रेमी संस्कार तथा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।