बुधबार, बैशाख ९, २०८३ | April 22, 2026

भियनामा राहदानी शिविर हुने

भियनामा राहदानी शिविर हुने

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र ३, २०८२

  • 148
    Views
भियनामा राहदानी शिविर हुने

-लोकराज रोका मगर

भियना । ग्रीसमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई राहदानी सेवा सहज बनाउने उद्देश्यका साथ नेपाली राजदूतावास भियनाले आगामी अप्रिल महिनामा राहदानी शिविर सञ्चालन गर्ने भएको छ । ग्रीसमा रहेर लामो समय देखि सेवाग्राहीहरूले राहदानीको अनलाइन फारम भर्न नपाएको भनी विभिन्न माध्यमबाट गुनासो गरेपछि दूतावासले सेवालाई थप व्यवस्थित बनाउँदै १६ मार्च २०२६ देखि अनलाइन फारमका लागि पुनः ‘स्लट’ खुला गरेको हो । शिविर आगामी २ अप्रिलदेखि ७ अप्रिलसम्म ग्रीसमा सञ्चालन हुने भएको छ । दूतावासले जारी गरेको सूचना अनुसारमाा यो सुविधा ग्रीसमा रहनुभएका नेपाली नागरिकहरूका लागि मात्र उपलब्ध हुने कुरा जानकारी गराईएको छ । राहदानी नवीकरण वा नयाँ राहदानीका लागि आवेदन दिन चाहनेहरूले अनलाइन फारम भरि सके पछि राजदूतावास भियनाको बैंक खातामा तोकिएको दस्तुर जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ । सो तोकिएको रकम जम्मा गरिसकेपछि सोको विस्तृत जानकारी दूतावासको आधिकारिक इमेल (nepal.vienna@gmail.com) मा अनिवार्य रूपमा पठाउनु पर्ने पनि राजदूतावासले विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै राहदानी दस्तुरवापतको रकम २३ मार्च २०२६ सम्ममा अनिवार्य रूपमा राजदूतावासको खातामा जम्मा गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र रकम जम्मा नगर्ने सेवाग्राहीहरूको फारम स्वीकृत नहुने र शिविरमा उनीहरूको बायोमेट्रिक्स लिने प्रक्रिया समेत अगाडि नबढ्ने दूतावासले स्पष्ट पारेको छ । यदि सेवाग्राही आफैँ उपस्थित हुन नसक्ने अवस्था भएमा आफ्ना आफन्त, साथीभाइ वा कम्पनीको प्रतिनिधिमार्फत पनि बैंकमा रकम जम्मा गराउन सकिने सुविधा समेत दिइएको छ । साथै, राजदूतावासले राहदानी सेवाका नाममा हुन सक्ने ठगी र अनावश्यक आर्थिक भारप्रति पनि सेवाग्राहीलाई सचेत गराएको छ । राहदानी दस्तुर बाहेक अन्य कुनै पनि प्रकारको अतिरिक्त रकम राजदूतावासले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नलिने हुनाले कसैले कुनै पनि बहानामा थप पैसा मागेमा त्यस्ता व्यक्तिको कुरामा नलाग्न र तुरुन्त राजदूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ । राजदूतावासले प्रदान गर्ने सेवालाई पारदर्शी र निष्पक्ष बनाउन जोड दिँदै दूतावासले सेवा प्रवाहलाई प्रभावित पार्ने वा सेवाग्राहीलाई बाध्य बनाएर अनाधिकृत रूपमा रकम असुल गर्ने कार्य गैरकानूनी भएको बताएको छ । यस्ता गतिविधिले सेवाको निष्पक्षतामा गम्भीर असर पुर्याउने हुनाले कुनै पनि व्यक्ति वा समूहलाई यस्ता कार्य नगर्न र नगराउन समेत दूतावासले कडा निर्देशन दिएको छ ।साथै राजदूतावासका घुम्ती सेवाबाट ग्रिसमा लामो समय सम्म पासपोर्ट विहिन भएका नेपालीहरुले राहत पाउने यात्रामा पनि सहजता हुने अपेक्षा समेत राखिएको छ ।


यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना, पाठक पत्र आदि नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha