-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालका माध्यमबाट हुने भ्रामक सामग्रीको प्रचार प्रसारलाई निर्वाचन आयोगले रोक्नु पर्ने बताउनुभएको छ । अध्यक्ष मगरले आर्थिक पारदर्शिताका लागि राजनीतिक दल र उम्मेद्वारले बैंक खातामार्पm आयव्यय देखाइ इमान्दारिता प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । स्वच्छ निर्वाचनका लागि अभियान अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार संगठनद्वारा बुधबार आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष मगरले आयोगले बिगतदेखि नै निर्वाचन पूर्व, मतदानका दिन र निर्वाचन पछि पनि अनुगमन गर्दै आएको स्मरण गर्दै भयरहीत वातावरणमा मतदान गर्न र स्वच्छ मत परिणाम घोषणा हुने वातावरण सिर्जना गर्न दलको इमान्दार भूमिका हुनु पर्ने बताउनु भयो ।उहाँले नो भोट, अपाङ्गता भएका व्यक्तिको सहज मतदानको वातावरण, दलहरुले बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न नहुने उल्लेख गर्दै निर्वाचनमा विदेशमा रहेका मतदाताको मतदान अधिकारको सुनिश्चिततालगायतका विषयमा आयोगले गरेका सिफारिस कार्यान्वय हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गर्नुभयो ।

निर्वाचन आयोगका प्रतिनिधि उषा गजमेरले निर्वाचनमा महिला उम्मेद्वार तथा मतदातालाई लक्षित गरी चरित्र हत्या हुने अभिव्यक्ति दिइएमा कानुनअनुसार कार्वाही हुने उल्लेख गर्दै जेनजी आन्दोलनलाई सम्बोधन हुने गरी दल दर्ता र उम्मेद्वारी दर्ता गरी निर्वाचनमा भाग लिइरहेको बताउनु भयो ।राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले नेपाल डिजिटलाइजेशन डेमोक्रेसीमा प्रवेश गरिसकेको उल्लेख गर्दै विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचन राजनीतिक दलभित्र युवाहरुले आफ्नो क्षेमता प्रदर्शन गर्न नपाउदाको परिणाम भएको बताउनु भयो ।
नेपाल प्रहरीका एआजीपी डम्बर बहादुर बि।क।ले निर्वाचनको तयारी र सुरक्षाको ९५ प्रतिशत तयारी भैसकेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट मिस र डिस इर्पmमेसन नआउने वातावरण बनाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।सशस्त्र प्रहरीका एआइजी गणेश ठाडा मगरले निर्वाचन प्रहरी सहित सशस्त्र प्रहरीले मतदान केन्द्रमा दोस्रो घेरामा रहेर सुरक्षा दिने सरकारको निर्णय भएकोले प्रत्येक जिल्लामा फागुन ५ गतेदेखि विभिन्न टोली परिचालन भएको जानकारी दिँदै थप मद्दत गर्ने जगेडा टोली समेतको व्यवस्था गरी निर्वाचन सुरक्षा व्यवस्था गर्न लागिएको बताउनु भयो ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले स्वच्छ निर्वाचनका लागि विगतका निर्वाचनहरुमा समेत पर्यवेक्षण गरी निर्वाचनकै दिन संक्षिप्त प्रतिवेदन निर्वाचन आयोगलाई दिने गरेको स्मरण गर्दै बिगतका निर्वाचनमा पाँच प्रतिशतभन्दा बढी मत बदर भएका उदाहरणले मतदाता शिक्षाको खाँचो रहेको बताउनु भयो ।उहाँले सुरक्षा भनेको व्यक्ति वा चिजलाई क्षति हुनबाट बचाउनु रहेकोले हरेक नागरिकको सुरक्षाका लागि सबै जिम्मेवार हुनु पर्ने उल्लेख गर्दै स्वतन्त्रता, स्वच्छता, निश्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगको अपिल गर्नुभयो ।