बुधबार, फाल्गुन ६, २०८२ | February 18, 2026

मल्लकालीन कीर्तिपुरको सुरक्षा कवचः देवढोका

मल्लकालीन कीर्तिपुरको सुरक्षा कवचः देवढोका

  • Naveen Sanchar

  • बुधबार, फाल्गुन ६, २०८२

  • 62
    Views
मल्लकालीन कीर्तिपुरको सुरक्षा कवचः देवढोका

-वीरेन्द्र शाक्य
कीर्तिपुर । नेपाल एकीकरण अभियानमा अघि बढ्दा पृथ्वीनारायण शाहलाई कीर्तिपुरसंग तीन पटक युद्ध लड्न परेको इतिहास सबैले पढेका छन्, नपढ्नेले पनि सुनेर थाहा पाएका छन् । साढे तीनसय वर्षअघिनै आधुनिक हात–हतियार बन्दुक, बम, गोला, बारुदबाट सुसज्जित गोर्खाली सेनाले तेस्रो पटकसम्म पनि सजिलै जित्न नसकेको कीर्तिपुरको सुरक्षा रणनीति के थियो त ? पक्कै सबैको चासोको विषय छ । त्यसमा पनि पहिलो युद्धमै गोर्खाली सेनाले सेनापति कालु पाण्डेलाई गुमाउन प¥यो, दोस्रोमा सुरप्रताप शाहले ऑखा गुमाउन प¥यो भने तेस्रोमा स्वयं पृथ्वीनारायण शाहलाई कीर्तिपुरे प्रजाले राजालाई मार्न हुन्न भनी बचाएका थिए भन्ने इतिहासमा उल्लेख छ ।
यहॉ सन्दर्भ तत्कालीन मल्ल्कालीन कीर्तिपुरको सुरक्षा रणनीति के–कस्तो थियो त भन्ने हो । काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भेगमा अवस्थित कीर्तिपुर अग्लो भू–भाग डॉडामा राजा शिवदेव मल्ल तृतीयले निर्माण गरेको सहर हो । मानिसको बसोबास गोपालवंश कालदेखिनै रहेको भएपनि मल्लकालमा छुट्टै राज्यको अस्तित्वमा त कहिले अधीनष्ठ राज्यको रुपमा रह्यो । पूर्व–पश्चिम लामो, समुन्द्री सहतभन्दा १४ समय मिटर उचाईमा रहेको डॉडाको चारैतिर ढुंगाको अग्लो किल्ला गढपर्खालले घेरिएको थियो । राज्य प्रवेशका एक दर्जन अर्थात् १२ वटा खास खास फरक–फरक प्रयोजनका काठका ठूल्ठूला खापाहरु भएको ढोकाहरु थिए । प्रत्येक ढोकाहरुमा भित्र सैनिक पहरा थिए । दोस्रो पटकको युद्धसम्म पनि गोर्खाली सेना किल्लाभित्र प्रवेश गर्न सकेको थिएन । किल्लाबाहिरै हालको नरगो, झःख्यः फॉटमै युद्ध भएको थियो । राज्यभित्र प्रवेश गर्न खोज्दा ठूल्ठूला ढुंगा गुल्ट्याई गोर्खाली सेना मारिन्थे, भगाईन्थे । बलले नसकेपछि तेस्रो पटकको युद्धमा नाकाबन्दी र छलकपटले भित्रिया मान्छे घुसाई राती ढोकाका खापाहरु खेल्न लगाई राज्य कब्जा गरिएको कुरा पनि इतिहासमै लेखिएको छ ।
तसर्थ, मल्लकालिन कीर्तिपुरको मुख्य सुरक्षा कवच भनेकै मिनी ग्रेटवाल’ अर्थात् अजंगको किल्ला गढपर्खाल थियो भन्दा फरक नपर्ला । हाल किल्लाको अंश भग्नावशेष सुरक्षित नभएपनि वंश अर्थात् जगभ भने कतै कतै सुरक्षित छन् । किल्लाको जीवित साक्षीको रुपमा १२ वटा ढोकाहरु फरक–फरक स्वरुपमा भएपनि आ–आफ्नै ठाउ‘मा उभिएका छन् । पश्चिम किल्लाको एकमात्र देवढोका काठकै पुरानै खापासहित पुरानै स्वरुपमा उभिएको छ । जात्रापर्व शुभकार्य प्रयोजनको ढोका भएकाले देवढोका स्थानीय भाषामा द्यःध्वाखाको रुपमा जीवित छ । वर्षभरि ३ सय ६५ दिन चौबिसै घन्टा निर्वाध खुल्ला रहने देवढोका हरेक वर्ष मंसिरमा हुने स्थानीय इन्द्रायणी जात्राको दिन खट भित्र्याई सकेपछि एकछिन् बन्द गर्ने परम्परा रहिआएको छ । लाखे प्रजातिको असुरलाई युद्धमा पराजित गर्दै कीर्तिपुरवासि जनतालाई इन्द्रायणी देवीले मुक्त गरि दुःखमोचन गरेको खुशियालीमा विजयोत्सवको रुपमा मनाईने जात्राका दिन विभिन्न ब्यञ्जन परिकारसहित थकालि जंगलमा लाखे पालो बस्न जाने परम्परा प्रतीकात्मकरुपमा कीर्तिपुरवासिले धान्दै र मान्दै आएका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha