-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर, ६ फागुन । कीर्तिपुरमा सवारी दुर्घटना भई सख्त घाईते अवस्थामा फेला परेका पारस बस्नेतको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । । विष्णुदेवी अस्पतालनजिक बुधवार बिहान करिब ३ बजेतिर घाईते भई लडेको अवस्थामा रहेको खबर आएपछि घटनास्थल पुगेको कीर्तिपुर टोलीले तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल पु-याएकोमा टाउकोमा समेत गम्भीर चोट लागेकाले ट्रमा सेन्टर रिफर गरिएको कीर्तिपुर अस्पताल आकस्मिक कक्षले जानकारी दिएको छ ।
धादिङ जिल्ला, गंगाजमुना गाउ‘पालिका वडा नं. १ घर भै हाल काठमाडौंको बनस्थली बस्दै आएका वर्ष ३० का पारस बस्नेतले मापसे गरि मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई कीर्तिपुर १ स्थित विष्णुदेवी अस्पतालको नजिक पार्किङ गरिराखेको ऐम्बुलेन्समा ठोक्किएर बिजुलीको पोलमा ठोक्किन गई बायाँ खुट्टा भाचिएको, टाउकोमा चोट, बायाँ खुट्टाको साईंली औंला काटिएको अवस्थामा भेटिएको घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक धर्मेन्द्र अकौलियाले बताउनुभयो । बस्नेतले चलाएको बा. ८४प. ८१ नम्बरको मोटरसाइकल प्रहरी वृत्त, कीर्तिपुरको नियन्त्रणमा रहेको बताईएको छ ।