मङ्लबार, फाल्गुन ५, २०८२ | February 17, 2026

विशिष्ट कला-साहित्य साधक सम्मानित

विशिष्ट कला-साहित्य साधक सम्मानित

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन ४, २०८२

  • 11
    Views
विशिष्ट कला-साहित्य साधक सम्मानित

नवीनसञ्चार सम्वाददाता, काठमाडौं ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,००० सहित सम्मानित गरेको छ ।यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको छ ।

यसैगरी प्रतिष्ठानले कलासाहित्यका साधक एवम् साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई नगद १,००,००० राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार २०८२, सशक्त शब्दशिल्पी निमेष निखिललाई नगद ७५,००० राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री पुरस्कार २०८२, मिथिला चित्रकारिताका साधक स्रष्टा एससी सुमनलाई नगद ६०,००० राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८२, साहित्यिक पत्रकार एवम् स्रष्टा राजेश खनाललाई नगद ५०,००० राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८२ र नेपाली लोकसाङ्गीतिक जगतका सङ्घर्षशील स्रष्टा सर्वश्री झुमा लिम्बूलाई नगद ५०,००० राशिसहितको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार २०८२ समर्पण गर्‍यो ।

प्रतिष्ठानका अध्यक्ष मोमिलाको सभापतित्वमा आयोजित सो कार्यक्रममा सो सम्मान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति विशिष्ट चित्रकार किरण मानन्धरको प्रमुख आतिथ्यतामा एक भव्य समारोहका बीच समर्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरण मानन्धर, अध्यक्ष मोमिला, सम्मानित मुखिया, श्रीओम श्रेष्ठ, निमेष निखिल र प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण कवि मणि लोहनीले गरेका थिए ।

स्मरण रहोस्, यसअघि राष्ट्रिय कलाश्री सम्मान क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल ९वात्स्यायान०, दुर्गालाल श्रेष्ठ, डा। वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान, रामेश, परशु प्रधान, किरण मानन्धर, यादव खरेल र वीणा पौडेललाई प्रदान गरिसकिएको छ भने राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा। गोविन्दराज भट्टराई, गीता केशरी, डा। राजेन्द्र बिमल, डा। ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक, अशेष मल्ल, मञ्जु काँचुली, प्रा। डा। लक्ष्मण गौतम, भागीरथी श्रेष्ठ र विश्वविमोहन श्रेष्ठलाई प्रदान गरिएको थियो ।

विगत १४ वर्षदेखि प्रदान गरिँदै आएको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनुमञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा, ठाकुर बेलवासे, केशव सिग्देल, भूपिन, कृसु क्षत्री र चन्द्र गुरुङलाई प्रदान गरिएको थियो ।

यस्तै बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, लक्ष्मी उप्रेती, धीरेन्द्र प्रेमर्षि, डा।टङ्क उप्रेती, अश्विनी कोइराला र वसन्त बस्नेतले प्राप्त गरिसकेका छन् भने थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार—२०७५ चित्रकार एरिना ताम्राकार, २०७६ मा मूर्तिकार विक्रमश्री, २०७७ मा विधाता के।सी।, २०७८ मा ओम के।सी, २०७९ मा फोटोकार जगदीश तिवारी, २०८० मा सम्झना राजभण्डारी र २०८१ म सुनील सिग्देलले प्राप्त गरिसकेका छन् ।

त्यस्तै विगत ६ वर्षदेखि प्रदान गरिएको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार यसअघि क्रमशः शिशिर योगी, मिलन नेवार, शिव परियार, मेलिना राई, सन्तोष श्रेष्ठ र कमलीकान्त भेटवाललाई प्रदान गरिएको थियो ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रका उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्वपरिवेशमा परिचित गराउन प्रतिबद्ध संस्था हो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha