दोहा, कतार ।
“हाम्रो अभिभारा, समृद्ध गण्डकी प्रदेश” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको गण्डकी प्रदेश समन्वय परिषद् कतारले वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम–२०२६ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम कतारको राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर वक्रा स्थित समुद्री तटमा मंगलबार आयोजना गरिएको हो।परिषद् कतारका अध्यक्ष नन्दलाल विकको अध्यक्षता तथा संस्थापक अध्यक्ष आसबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्का मातहतका जिल्ला संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।औपचारिक कार्यक्रम ब्यानर अनावरण सँगै बागलुङको पश्चिम भेगमा प्रचलित पुर्कोटे र हटियाको नौमती बाजाको पूजा सहित शुभारम्भ गरिएको थियो। वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राख्दै परिषद्ले छिट्टै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जानकारी दिएका थिए।

कार्यक्रमलाई सहभागी मूलक र मनोरञ्जनात्मक बनाउने उद्देश्यले विभिन्न खेलकुद गतिविधि, कविता वाचन तथा सांगीतिक प्रस्तुति समावेश गरिएको थियो।कार्यक्रमको सहजीकरण महासचिव मनप्रसाद राना मगरले गरेका थिए। उनले कार्यसमितिले गत एक वर्षमा गरेका गतिविधिहरू समेटिएको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी कोषाध्यक्ष मदन जिसीले आयव्यय विवरण पेस गरेका थिए।कार्यक्रममा गण्डकी प्रदेशवासी तथा कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कतारको राष्ट्रिय खेलकुद दिवसको सम्मान स्वरूप बन्द डब्बा भित्र राखिएको चनाको दानाको संख्या अनुमान गर्ने प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा महिलातर्फ सिर्जना तामाङ र पुरुषतर्फ दिनेश लामिछाने विजयी हुँदै जनही १०१ कतारी रियाल नगद पुरस्कार प्राप्त गरेका थिए। साधारण सभामा लमजुङका कवि सिताराम थापाले कविता वाचन गरेका थिए भने तारा बिसीले गायन प्रस्तुति दिएका थिए। करुणा थापा मगरले नृत्य मार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन्। कार्यक्रमका अवसरमा एनआरएन एनसीसी कतारका उपाध्यक्ष तथा नौमती बाजाका संयोजक सन्तोष पौडेललाई फेटाद्वारा सम्मान गरिएको थियो। लमजुङ सेवा समाज कतारले आयोजक संस्थालाई कोसेली उपहार प्रदान गरेको थियो।

प्रमुख अतिथि आसबहादुर गुरुङले परिषद्ले आफ्नो कार्य तालिका अनुसार कार्यक्रमहरू सफलता पूर्वक सम्पन्न गर्दै आएको उल्लेख गर्दै आगामी बक्र ईदको अवसरमा आयोजना गरिने कार्यक्रम बारे जानकारी गराउँदै सहभागिताका लागि आग्रह गरे।कार्यक्रममा विभिन्न कलाकारहरूले पञ्चेबाजामा दोहोरी प्रस्तुत गरेका थिए। उपस्थित सहभागीहरूले बाजाको तालमा कुर्ची छोडेर नाच्दै उल्लासपूर्ण वातावरण सिर्जना गरेका थिए। दिउँसोको तातो मौसमलाई साँझ पर्दै जाँदा चिसिँदै गएको समुद्री तटको वातावरणले घेरे पनि बाजा, नृत्य र उत्साहले कार्यक्रमलाई जीवन्त बनाएको थियो।समापन मन्तव्य दिँदै अध्यक्ष विकले गण्डकी प्रदेश समन्वय परिषद् कतारले सधैं फरक र सृजनात्मक कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए।







